दैलेख, भदौ ३० –सिलङ्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ९औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष ललित अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त सभामा प्रमुख अतिथिका रुपमा भैरवी गाउँपालिका दैलेखकी उपाध्यक्ष देवी भण्डारीको उपस्थिति रही।
सभामा भैरवी गाउँपालिका–२ का वडा अध्यक्ष मिनबहादुर थापा, वडा नं. ३ का अध्यक्ष भक्तिप्रसाद उपाध्याय, योजना शाखाका अधिकृत चेतन लामिछाने, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय विद्यालयका प्रतिनिधिहरु, सेयर सदस्यहरू तथा अन्य समुदायका सदस्यहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा संस्थाका सचिव हरिप्रसाद उपाध्यायले आर्थिक वर्ष २०८०/८१ को वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको हालसम्मको वित्तीय अवस्था र आगामी योजना विवरण प्रस्तुत गर्नुभयो।
सभामा अध्यक्ष ललित अधिकारीले सहकारी संस्थाले निकट भविष्यमा आफ्ना सेयर सदस्यहरूलाई लक्षित गर्दै मृतक राहत कोष स्थापना गरी सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो। साथै, संस्थाले वित्तीय सुदृढिकरण, सदस्य सशक्तिकरण र सहकारी आन्दोलनको प्रवर्द्धनमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको समेत उहाँले उल्लेख गर्नुभयो।
सभाको समापन कार्यक्रममा सहकारीका योगदानबारे वक्ताहरूले आ–आफ्नो धारणा राखेका थिए। कार्यक्रम विविध सांस्कृतिक प्रस्तुतिहरूका साथ सम्पन्न गरिएको थियो।