बागलुङ नगरपालिका–१, खुदुर्के मालढुङ्गामा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन गण्डकी) परियोजनाअन्तर्गत मौलिक शैलीको राधाकृष्ण मन्दिर तथा सभाहल निर्माण सम्पन्न भएको छ। कुल लागत करिब दुई करोड ५० लाख रुपैयाँ रहेको मन्दिर र सभाहल भक्तजनको दानमुठीबाट बनेको हो।
इस्कोन बागलुङका संस्थापक अध्यक्ष परमेश्वर अच्युतदासका अनुसार, सोही दानबाट मालढुङ्गास्थित सयौं वर्ष पुरानो लक्ष्मीनारायण मन्दिरको पनि जीर्णोद्वार गरिएको छ।
लक्ष्मीनारायण गुठीको १७ रोपनी क्षेत्रफलमा सञ्चालन भइरहेको इस्कोन गण्डकी परियोजना अन्तर्गत तीन वर्ष अघि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार कुल ४३ करोड लागतका संरचना निर्माण गरिने योजना छ। यसअन्तर्गत सभाहल, मन्दिर, शाकाहारी भोजनालय, धर्मशाला, अतिथिगृह, कालीगण्डकी किनारमा स्नानस्थल, आरती मञ्च र ध्यानस्थलसमेत निर्माण हुनेछन्।
अध्यक्ष अच्युतदासका अनुसार, कालीगण्डकी किनारमा स्नान र ध्यानस्थल बनाउन लागिएको छ, जसले विशेष गरी विदेशबाट फर्किने भक्तजनलाई सहज सुविधा उपलब्ध गराउनेछ। भक्तजनले स्नान गरी गंगाजल लैजान पाउने व्यवस्था रहनेछ।
यस परियोजनामा गण्डकी प्रदेश सरकारको सहयोगमा सिंचाइ तथा जलस्रोत विकास डिभिजन कार्यालयमार्फत कालीगण्डकी नदी व्यवस्थापनका लागि संरक्षण पर्खाल निर्माण गरिएको छ। ‘‘पर्खालले परियोजनाको जमिन र संरचनाको सुरक्षा सहज बनाएको छ,’’ अच्युतदासले बताए।
मन्दिर र सभाहलको उद्घाटन आज कृष्ण जन्माष्टमीका अवसरमा गर्ने कार्यक्रम छ। साताव्यापी धार्मिक महोत्सवअन्तर्गत इस्कोन बागलुङले कृष्ण जन्माष्टमी भव्यताका साथ मनाइरहेको छ।
कार्यक्रममा बागलुङ, पर्वत र म्याग्दीका १२ विद्यालयबीच आध्यात्मिक हाजिरीजवाफ प्रतियोगिता, महाहरिनाम संकीर्तन, कृष्ण प्रवचन, नाटक, नृत्य, ग्रन्थ प्रदर्शन, महाभिषेक र यज्ञजस्ता गतिविधिहरू सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।