काठमाडौं — नेपाल प्रहरीका पूर्व डीएसपी गोबिन्द पन्थीले प्रहरी संगठनमै गम्भीर मानवअधिकार उल्लंघन भइरहेको आरोप लगाएका छन्।
शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले १३ जना प्रहरीलाई लामो समयदेखि ‘एरिया हद’ तोकेर नजरबन्दमा राखेको खुलासा गरेका छन्। उनका अनुसार कतिपय प्रहरी कर्मचारी एक वर्षभन्दा बढी समयदेखि कैद जस्तै अवस्थामा छन्।
“३० वर्ष सेवा गरेको संगठनले आफ्नै कर्मचारीलाई यसरी अमानवीय व्यवहार गरेको देख्दा मन चिसिन्छ,” पन्थीले लेखेका छन्। अनुशासन उल्लंघन वा भ्रस्टाचार प्रमाणित भए कानुनअनुसार सजाय दिन सकिने भए पनि प्रक्रिया पन्छाएर मानसिक तथा शारीरिक पीडा दिने प्रवृत्ति संस्थाको गरिमामाथि प्रहार भएको उनको तर्क छ।
निकट भविष्यमा अवकाशमा जान लागेका प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै उनले भनेका छन्, “दुई हप्ता पछि तपाईं अवकाशमा जानुहुनेछ, तर आफ्नै भाइबन्दलाई शंकाको भरमा यसरी यातना दिँदा तपाईंलाई पनि कति मन दुख्ला ?”
पूर्वडीएसपी पन्थीले प्रधानमन्त्रीलाई समेत गम्भीर चासो दिन आग्रह गरेका छन्। उनले निर्दोष प्रहरीलाई तत्काल न्याय दिलाउन, सत्य तथ्यको निष्पक्ष छानबिन गर्न र दोषीलाई मात्र कानुनअनुसार सजाय दिनुपर्नेमा जोड दिएका छन्।
उनले चेतावनी दिँदै भनेका छन्, “यदि यस्तो गैरकानुनी अभ्यास रोकिएन भने प्रहरी संगठनको गरिमा घट्नेछ, कर्मचारी निराश भई जागिर त्याग्नुपर्ने अवस्था आउँछ, जसको दीर्घकालीन असर मुलुककै शासन प्रणाली र अर्थतन्त्रमा पर्नेछ।”
