चितवन – भरतपुर महानगरपालिकाले पछिल्लो आठ वर्षमा १,०६५ किलोमिटर सडक कालोपत्रे गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। मेयर रेनु दाहालको नेतृत्वमा भएको यो विकासले भरतपुरको भौतिक स्वरूपमा उल्लेखनीय परिवर्तन ल्याएको हो।
एक समय नारायणगढ बजारमै मात्र कालोपत्रे सडक सिमित रहँदा अहिले १ देखि २९ वडासम्मका अधिकांश क्षेत्रमा सहज सडक पहुँच सुनिश्चित गरिएको छ। महानगरका अनुसार अहिले सबै वडामा ३० मिनेटमै पुग्न सकिने अवस्थाको निर्माण भएको छ।
महानगर प्रमुख दाहालको पहिलो कार्यकालमा ६२२ किमि सडक कालोपत्रे गरिएको थियो भने दोस्रो कार्यकालको तीन वर्षभित्र थप ४४२ किमि सडक निर्माण गरिएको छ। हालको गति कायमै रहे दोस्रो कार्यकालको अन्त्यसम्म ७३५ किमि सडक निर्माण हुने अपेक्षा गरिएको छ। यी सडकहरू ६ देखि १६ मिटर चौडाइका छन्।
समन्वयमा थप २०० किमि सडक
संघ र प्रदेश सरकारसँगको समन्वयमा थप २०० किमि सडक निर्माण भइसकेको छ। पुल्चोक–गोन्द्राङ, बाइपास सडक, हुलाकी मार्ग, प्रचण्ड पथ र ८८ किमिको चक्रपथ जस्ता महत्वाकांक्षी सडक परियोजनाहरू सम्पन्न भएका छन्। संघीय बजेटमा निर्माण भएको २१ किमिको प्रचण्ड पथले भरतपुरका ग्रामिण क्षेत्रलाई समेत सहरी संरचनामा जोडेको छ।
सौन्दर्यीकरण र स्मार्ट बत्ती
सडक निर्माणसँगै महानगरले सौन्दर्यीकरण र हरियालीमा समेत विशेष ध्यान दिएको छ। सडक दायाँबायाँ वृक्षरोपणलाई निरन्तरता दिइँदै आएको छ। यस्तै, ८० किमि मुख्य सडकमा स्मार्ट सडकबत्ती जडान गरिसकिएको छ भने बाँकी १५० किमि क्षेत्रमा बत्ती जडान अन्तिम चरणमा पुगेको छ।
“विकासको पहिलो आधार सडक हो,” मेयर रेनु दाहालले बताउनुभयो, “सडकले अन्य विकासलाई जोड्छ, समय र खर्च बचत गर्छ, र सबै क्षेत्रमा पहुँच सुनिश्चित गर्छ।”
भरतपुरको तीव्र पूर्वाधार विकाससँगै यो क्षेत्र अब प्रदेश ३ (बागमती) भित्रकै समृद्ध र सुविधायुक्त महानगरको रुपमा दरिन थालेको छ।