काठमाडौं– ठगीको आरोप लागिरहेको मितेरी सहकारी काण्डमा अब विदेशमा बसोबास गर्ने गैरआवासीय नेपाली संघ (एनआरएन) का नेताहरूको संलग्नता समेत देखिन थालेको छ। आइतबार ठगीको आरोपमा दायर भएको मुद्दामा हङकङ र कम्बोडियाबाट सक्रिय रहेका दुई जना एनआरएन नेताहरू पनि मुछिएका छन्।
सिआइबी (केन्द्रीय अनुसन्धान ब्युरो) को अनुसन्धान अनुसार, हङकङमा बसोबास गर्दै आएका अर्जुन आराम र कम्बोडियामा बस्ने प्रदीप भन्ने प्रितम अधिकारीले ठगीको रकम हुन्डीमार्फत विदेश पुर्याएर आर्थिक अपराधमा सहकार्य गरेका थिए। दुबै जना एनआरएन सदस्य हुन्।
एनआरएन महासचिवसम्मको संलग्नता
सिआइबीको अनुसार, कम्बोडियामा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका प्रितम अधिकारी एनआरएन कम्बोडियाका महासचिव हुन्। बागलुङको गल्कोट स्थायी घर भएका अधिकारीले लामो समयदेखि अवैध रूपमा हुन्डीमार्फत नेपालमा रकम पठाउने र सहकारीमार्फत संकलित रकम विदेश लैजाने कार्यमा संलग्नता देखिएको अनुसन्धानमा खुलाइएको छ।
त्यस्तै, अर्जुन आरामको स्थायी घर सिन्धुपाल्चोकको चौतारा हो। उनी हङकङबाट आर्थिक कारोबारमा सक्रिय रहेको पाइएको छ।
थप अनुसन्धान हुँदै
सिआइबीले उनीहरूको भूमिका गम्भीर देखिएकाले दोस्रो चरणमा थप अनुसन्धान अघि बढाउने तयारी गरिरहेको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, यस प्रकरणमा अन्तर्राष्ट्रिय आर्थिक संजाल सक्रिय रहेको आशंका बलियो बनेको छ।
९ जनाविरुद्ध मुद्दा, धनराज गुरुङ विवादमा
सिआइबीले सहकारी ठगीमा संलग्न भन्दै नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ। अभियुक्तहरूमा ज्योतीबहादुर भण्डारी, सुवास खत्री, सुरेश अधिकारी, ज्योती गुरुङ, कुम्भराज गुरुङ, विजयकुमार राईसहित एनआरएनका अर्जुन आराम र प्रितम अधिकारी छन्।
अभियुक्तमध्ये ज्योती गुरुङ नेपाली कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती हुन्। सोही कारण धनराज गुरुङको नामसमेत प्रारम्भिक अनुसन्धानमा जोडिएपनि सिआइबीले उनलाई बयान लिएर उन्मुक्ति दिएकोमा चौतर्फी आलोचना सुरु भएको छ।
सहकारी पीडितको माग – "उच्च राजनीतिक संरक्षणको छानबिन होस्"
सहकारी पीडितहरू र नागरिक समाजले ठगी प्रकरणमा संलग्न सबै व्यक्तिमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। उनीहरूले राजनीतिक पहुँच र ओहदाका आधारमा कसैलाई जोगाउने प्रयास भए आन्दोलन चर्काउने चेतावनी दिएका छन्।