काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन, द्रुत विकास र समृद्ध नेपाल निर्माणका लागि सूचना प्रविधिको प्रभावकारी उपयोग अपरिहार्य भएको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन–२०८२ लाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले डिजिटल युगमा पछाडि नपर्ने हो भने प्रविधिमा लगानी र उपयोगमा जोड दिनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले डिजिटल नेपाल फ्रेमवर्क, कृत्रिम बुद्धिमत्ता (AI) नीति र प्रविधिमैत्री कानुनी संरचना निर्माण भइसकेको र तिनको कार्यान्वयन चरणमा रहेको जानकारी दिए।
शिक्षा र स्वास्थ्यमा प्रविधिको प्रभाव
उक्त सम्बोधनमा प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा र बैंकिङ प्रणालीमा प्रविधिको पहुँचले पारदर्शिता र सहजता ल्याएको उल्लेख गरे। उनले भने, “सूचना प्रविधिको प्रयोगले सेवामा गति र गुणस्तर आएको छ। सरकारी सेवामा पारदर्शिता बढेको छ।”
उनले प्रविधिको सकारात्मक प्रयोगले मात्र देशलाई समृद्धितर्फ लैजान सकिने उल्लेख गर्दै, यसको दुरुपयोगबाट सचेत रहन सबैलाई आग्रह गरे।
युवालाई प्रविधिमा अग्रसर बन्न आह्वान
प्रधानमन्त्री ओलीले युवाहरुलाई डिजिटल उद्यमशिलता र प्रविधिमा आधारित नवप्रवर्तनतर्फ उन्मुख हुन आग्रह गरे। “युवा पुस्ता सूचना प्रविधिको उपयोगकर्ता मात्र होइन, विकासकर्ता पनि बन्नुपर्छ,” उनले जोड दिए।
सम्मेलनमा अन्तर्राष्ट्रिय सहभागिता
अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलनमा नेपालसहित विभिन्न ८ देशका सूचना प्रविधि विशेषज्ञ, युवा प्रतिनिधि र अनुसन्धानकर्ताहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। सम्मेलनमा डिजिटल इनोभेसन, साइबर सुरक्षा, स्टार्टअप प्रवर्द्धन र सरकारी सेवा डिजिटलाइजेसनका विषयमा विभिन्न कार्यपत्रहरू प्रस्तुत गरिएका छन्।प्रधानमन्त्रीले आगामी दिनमा नेपाललाई प्रविधिमैत्री, दक्ष जनशक्तिसम्पन्न र डिजिटल पूर्वाधारयुक्त मुलुक बनाउने संकल्प पुनः दोहोर्याएका छन्।