काठमाडौं – अध्यागमन विभागले वैदेशिक यात्रा प्रक्रियामा पारदर्शिता र मर्यादा कायम गर्दै अबदेखि केवल शंका, अनुमान वा सामाजिक हैसियतका आधारमा कुनै पनि नेपाली नागरिकलाई विदेश जान रोक्ने कार्य नगर्ने स्पष्ट नीति लिएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रामचन्द्र तिवारीले सात पक्षलाई जिम्मेवार ढंगले काम गर्न विशेष आह्वान गर्दै अध्यागमन प्रक्रियामा शून्य सहनशीलता नीति लागू गरिएको जानकारी दिए।
सात पक्षलाई आह्वान
महानिर्देशक तिवारीले यात्रुहरू, वायुसेवा कम्पनीहरू, स्थानीय तह, सञ्चार माध्यम, विदेशस्थित कूटनीतिक नियोग, ट्राभल एजेन्टहरू तथा मुद्रा सटही संस्थाहरूलाई सुरक्षित, मर्यादित र व्यवस्थित यात्रा सुनिश्चित गर्न सहकार्य गर्न अनुरोध गरे।
उनले भने, “भिजिट भिसामा जाने कुनै पनि यात्रु शंकाका भरमा रोकिने छैन। तर, नक्कली कागजात पेस गर्नेप्रति कठोर कारबाही हुनेछ।”
वैध कागजात अनिवार्य
विभागले विदेश जान चाहने नागरिकहरूलाई निम्न कागजात अनिवार्य रूपमा साथमा राख्न आग्रह गरेको छ:
यात्रुलाई दलाल वा विचौलियाको प्रभावमा नपरी केवल कानुनी बाटोबाट यात्रा गर्न सुझाइएको छ। अध्यागमन प्रक्रियामा कुनै पनि कर्मचारीले रकम मागेमा विभाग, प्रहरी वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तत्काल जानकारी दिन अनुरोध गरिएको छ।
वायुसेवा कम्पनीलाई निर्देशन
वायुसेवा कम्पनीहरूलाई यात्रुलाई समयमै स्टेरेलाइज्ड एरिया (निर्धारित सुरक्षायुक्त क्षेत्र) मा पुर्याउन, अत्यधिक ओभरबुकिङ नगर्न र बोर्डिङ पास दिन असमर्थ भएमा यात्रुलाई स्पष्ट लिखित जवाफ दिन निर्देशन दिइएको छ।
अध्यागमन सुधारको दिशामा
अध्यागमन कार्यालयहरूमा सेवा सहज, पारदर्शी र भ्रष्टाचारमुक्त बनाउने अभियानअन्तर्गत यो नीति आएको हो। विभागले प्रविधिमैत्री प्रणाली विस्तार गर्दै, डिजिटल फर्म र अनलाइन सेवा प्रवर्द्धनमा समेत काम गरिरहेको जनाएको छ।