ढोरपाटन (बागलुङ) — नेपालको एकमात्र शिकार आरक्ष रहेको ढोरपाटन पुग्ने मुख्य सडकको दयनीय अवस्थाले पर्यटकलाई ठूलो सास्ती दिइरहेको छ। राष्ट्रिय प्राथमिकताको आयोजना भनी प्रचारित सालझण्डी–ढोरपाटन सडक खण्ड ट्रयाक खुलेको १० वर्ष बितिसक्दा पनि स्तरोन्नति हुन सकेको छैन।
रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोडिएको यो सडक खण्ड वर्षाको समयमा झन् जोखिमपूर्ण बन्ने गरेको छ। सडक साँघुरो, खाल्डाखुल्डी र हिलाम्मे भएपछि सवारी साधन गुड्न हम्मेहम्मे हुने गरेको छ। पर्यटकहरूले प्रायः मोटरसाइकल र जिप प्रयोग गर्ने गरेका छन्, तर ती सवारीबीचमै बिग्रने, फस्ने समस्या अत्यधिक देखिएको छ।
ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खीमबहादुर घर्तीमगरले भने, “यो सडकका कारण यस क्षेत्रका नागरिक र आगन्तुकले दुःख पाउनुपरेको छ। निर्माण कम्पनीले समयमा काम सम्पन्न गरेको भए यो अवस्था आउने थिएन।”
उनका अनुसार पटक–पटक निर्माण कार्य अगाडि बढाउन आग्रह गरिए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको छ।
सडकले यात्रा अविस्मरणीय होइन, पीडादायी बनायो
नवलपुरबाट ढोरपाटन घुम्न आएका तुफान सापकोटाले फल्लेघरभन्दा तल सडकमा गाडी बिग्रिँदा दुई दिन अलपत्र परेको अनुभव सुनाए। “ढोरपाटन यति सुन्दर छ, तर यहाँसम्म आउने बाटो निकै खतरा रहेछ,” उनले भने, “सामाजिक सञ्जालमा देखिएको सुन्दरता वास्तविकता हो, तर सडकले यात्रा अविस्मरणीय होइन, पीडादायी बनायो।”
बुर्तिवाङदेखि बोबाङसम्म सडक केही सहज भए पनि त्यसपछि भने यात्रा निकै कठिन हुने गरेको छ। वर्षाका कारण सडकमा लेदो र ढुंगा थुप्रिने, बाटो चिप्लो हुने समस्या झन् जटिल देखिएको छ।
ठेक्का सम्झौता चार वर्षअघिको, प्रगति शून्य
बडिगाड गाउँपालिका–१० गंगरे, निसीखोला गाउँपालिका–७ राजकुट हुँदै ढोरपाटन जोडिएको ६१ किलोमिटर सडक खण्डको स्तरोन्नतिका लागि चार वर्षअघि ठेक्का सम्झौता भएको थियो। तर हालसम्म कुनै उल्लेखनीय काम हुन सकेको छैन।
सालझण्डीदेखि ढोरपाटनसम्मको कुल दुरी १९७ किलोमिटर रहेको छ। सडकको दयनीय अवस्थाले केवल पर्यटक मात्र होइन, स्थानीय बासिन्दा र वस्तुभाउलाई समेत आवतजावतमा गाह्रो बनाएको छ।
स्थानीयवासी र जनप्रतिनिधिहरूले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल सडक सुधारको माग गरेका छन्। “ढोरपाटनको सुन्दरता सधैंको लागि सम्झना बनोस्, यातना होइन,” उनीहरूको भनाइ छ।