सुनसरी — निरन्तर वर्षापछि सप्तकोशी नदीमा पानीको सतह तीव्र गतिमा बढेको छ। आइतबार बेलुकी १० बजे कोशी ब्यारेजमा मापन गरिएको पानीको प्रवाह २ लाख २६ हजार ५६० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।
अहिले कोशी ब्यारेजका ५६ मध्ये ३१ ढोका खोलिएको छ। दिउँसो २ बजे मात्र पानीको प्रवाह १ लाख ७४ हजार ३७५ क्युसेक मापन गरिएको थियो, जसका आधारमा २३ ढोका खोलिएका थिए। बेलुकीसम्म पानीको सतह थप बढेपछि थप ढोका खोलिएको हो।
खतराको संकेतस्वरूप रातो बत्ती बालिएको
कोशी ब्यारेजमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिएको छ। कन्ट्रोल रुमका अनुसार हाल रातो बत्ती बालिएको छ र सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रवक्ता खतिवडाका अनुसार, “पहाडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण कोशीमा पानीको सतह निरन्तर बढ्दो छ। सतर्क रहन स्थानीय निकाय र सुरक्षाकर्मीलाई जानकारी दिइएको छ।”
बाढीको जोखिम कायमै, स्थानीयलाई सतर्कता अपनाउन आग्रह
सप्तकोशीको जलप्रवाह उच्च बन्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक तयारी गर्न समेत निर्देशन दिइएको प्रहरीले जनाएको छ।
कोशी ब्यारेज आसपासका क्षेत्रहरूमा निगरानी बढाइएको छ भने आकस्मिक उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा राखिएका छन्।