काठमाडौं, भदौ १६ — हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर सरेको छ । साथै, अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह सक्रिय भएपछि देशभरको मौसममा उल्लेखनीय प्रभाव परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, यस प्रभावका कारण मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी क्षेत्रमा सामान्य बदली छ भने अन्य क्षेत्रहरूमा आंशिक बदली देखिएको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आज देशभर सामान्य बदलीको अवस्था रहने उल्लेख गरेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा तथा अन्य पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने चेतावनीसमेत दिइएको छ ।
रातिको समयमै पनि मौसम बदली नै रहने महाशाखाको भनाइ छ । विशेषगरी सुदूरपश्चिम, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा तथा अन्य पहाडी भूभागमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, तराईका केही स्थानमा पनि राति पानी पर्न सक्ने पूर्वानुमान गरिएको छ ।
सावधानी अपनाउन सुझाव
भारी वर्षाका कारण पहिरो, बाढी तथा सडक अबरुद्धजस्ता जोखिम बढ्न सक्ने भएकाले महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।