तनहुँ भदौ –तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–८ अर्चलेका किसानहरूले सामूहिक रूपमा पहिलोपटक अकबरे खुर्सानी खेती थालेका छन्। अर्चले कृषक समूहमा आबद्ध २५ जना किसानले २२ रोपनी जग्गामा व्यावसायिक रूपमा खुर्सानी खेती गरेका हुन्।
समूहका सदस्य गञ्जसिं गुरुङका अनुसार पहिलो चरणमै एक हजार किलो खुर्सानी उत्पादन भई बिक्री भइसकेको छ। प्रति किलो रु २५० देखि ३५० सम्म मूल्य पाउँदै आएको भए पनि उत्पादनको मूल्यअनुसार उचित प्रतिफल नपाएको उनले बताए। “बिक्रीको लागि बजारको अभाव छैन,” गञ्जसिंले भने, “तर मूल्यमा भने अझ सुधारको आवश्यकता छ।”
उत्पादित खुर्सानी भीमाद, दुलेगौँडा र पोखरा लगायतका बजारमा बिक्री हुँदै आएको छ। पहिलो चरणको उत्पादनबाट करिब रु दुई लाखभन्दा बढी आम्दानी भइसकेको कृषक समूहले जनाएको छ।
खुर्सानी खेतीका लागि ऋषिङ गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा बेर्ना र सिँचाइ सुविधा उपलब्ध गराएको थियो। कृषक समूहका अध्यक्ष मिनबहादुर गुरुङका अनुसार सुरुमा रु छ लाख बराबरको सामूहिक लगानी गरिएको थियो। “वैशाखको अन्तिम साता बिरुवा लगाएका थियौं,” उनले भने, “बिरुवा रोपेको दुई महिनामै फल्न सुरु भयो, अहिले दोस्रो चरणको बिक्रीका लागि तयारी भइरहेको छ।”
सहुलियत दरमा ऋण सुविधा पनि उपलब्ध गराउँदै आएको ऋषिङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका गञ्जसिंले जानकारी दिए। “गाउँका युवा वैदेशिक रोजगारीतिर लागिरहेका छन्, उनीहरूलाई गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यले कृषि र पशुपालनमा आकर्षित गर्ने प्रयास हो यो,” उनले भने।
स्थानीय माटो उर्वर रहेको र उत्पादन राम्रो हुने भएकाले किसानले जमिन बाँझो नराख्ने अभियान पनि थालेका छन्। समूहले हालसम्म १४० रोपनी क्षेत्रफलमा सुन्तला खेती सुरु गरिसकेको छ। “अहिलेसम्म एक हजार बिरुवा लगाइसक्यौं,” गञ्जसिंले थपे, “अब तीन हजार बिरुवा पुर्याउने योजनासहित अघि बढेका छौँ।”