ललितपुर, भदौ – नेपालको फोहोरमैला व्यवस्थापन प्रणालीलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्यसहित नेपाल टेक मार्केट ले नयाँ ‘सफ्टवेयर प्रणाली’ सार्वजनिक गरेको छ। ‘सोलिड वेष्ट म्यानेजमेन्ट एसोसिएसन नेपाल’, ‘अपकोड नेपाल’ र ‘नेपाल टेक मार्केट’ को सहकार्यमा विकसित यो प्रणालीले स्थानीय तहदेखि आम नागरिकसम्मको सहभागिता सुनिश्चित गर्दै फोहोर व्यवस्थापनलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ।
नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत चीरञ्जीवी अधिकारीले फोहोरलाई समस्या नभई अवसरको रूपमा लिनुपर्नेमा जोड दिँदै भने, “यो सफ्टवेयर प्रणाली प्रविधि मात्र होइन, सामाजिक जिम्मेवारीसँग जोडिएको अभियान हो। फोहोरको पुनःप्रयोग र पुनःचक्रणमार्फत दिगो समाधान सम्भव छ।”
प्रयोगकर्ता-मैत्री र सुरक्षित
अपकोड नेपालका वरिष्ठ सफ्टवेयर इन्जिनियर मङ्गल कृष्ण प्रधानका अनुसार, प्रणालीमा नवीनतम प्रविधिहरूको प्रयोग गरिएको छ। “यो सफ्टवेयर बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो छ,” प्रधानले बताए। प्रणालीले फोहोर सङ्कलन, वर्गीकरण, ट्र्याकिङ र शुल्क भुक्तानीलाई डिजिटलरूपमा सरल बनाएको छ।
मुख्य विशेषताहरू
-
अनलाइन भुक्तानी प्रणाली: घरधुरी, संस्था वा व्यवसायहरूले फोहोर व्यवस्थापन शुल्क डिजिटल माध्यमबाट सजिलै तिर्न सक्छन्।
-
नगरपालिका ड्यासबोर्ड: प्रत्येक स्थानीय तहका लागि छुट्टै ड्यासबोर्ड राखिएको छ, जसबाट वडा वा नगरमा भइरहेका फोहोर व्यवस्थापन गतिविधिको निगरानी गर्न सकिनेछ।
-
जीपीएस प्रणाली: फोहोर संकलन गर्ने सवारी साधनहरूमा जीपीएस जडान गरिएकाले ट्र्याकिङ र व्यवस्थापन थप प्रभावकारी भएको छ।
-
पुनःउपयोग र वर्गीकरण: फोहोर वर्गीकरण अनुसार पुनःउपयोगमा विशेष ध्यान दिइएको छ, जसले दीगो व्यवस्थापनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
सबैका लागि उपयुक्त
यो सफ्टवेयर प्रणाली प्रयोग गर्ने सम्भावित सेवाग्राहीहरूमा घरपरिवार, अस्पताल, विद्यालय, होटल, व्यवसायी, सरकारी संस्था तथा फोहोर व्यवस्थापन कम्पनीहरू पर्छन्। प्रणालीले फोहोर उत्पादन गर्ने र व्यवस्थापन गर्ने पक्षहरूबिच समन्वय र पारदर्शिता कायम गर्नेछ।
नेपाल टेक मार्केटकी प्रमुख व्यावसायिक अधिकृत सुष्मिता पौडेलका अनुसार, “प्रणालीको प्रारम्भिक प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइसकेको छ। यसले समुदायलाई सफा सहर निर्माणमा प्रेरित गर्नेछ।”
स्मार्ट सहर निर्माणको यात्रामा यो डिजिटल प्रणाली महत्त्वपूर्ण मोड सावित हुने विश्वास गरिएको छ।