दाङ: घोराही उपमहानगरपालिकाले गुणस्तरहीन दूध बिक्री वितरण गरेको आरोपमा नौ डेरी पसललाई जनही पाँच–पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिका अन्तर्गतको बजार व्यवस्थापन समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। घोराही–१५ मा सञ्चालित ती डेरी पसलहरूले नेपाल सरकारद्वारा तोकिएको मापदण्ड विपरीतको दूध बिक्री गरेको पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।
सम्बन्धित डेरीहरूले स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७८ को दफा २९(९)(ग) बमोजिमको कसुर गरेको र त्यसअनुसार दफा ३० को उपदफा १९(क) बमोजिम जरिवाना गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहनसिंह सुनारले जानकारी दिए।
यसअघि, भदौ ५ र ६ गते संयुक्त बजार अनुगमन टोलीले घोराही–१४ र १५ का १६ पसलबाट संकलन गरेका १८ वटा दूधका नमुनाहरूको परीक्षण गरिएको थियो। परीक्षण प्रतिवेदन अनुसार, नौ वटा डेरीका नमुनाहरू गुणस्तरहीन ठहरिएका थिए।
बैठकले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णयसँगै, म्याद गुज्रिएका खाद्य तथा अखाद्य वस्तुहरू आवश्यक प्रक्रिया पूरा गरी नष्ट गर्ने निर्णय पनि गरेको छ।
यस्तै, नगरभित्र पार्किङ व्यवस्थापन सुधार गर्ने लक्ष्यसहित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडिको क्षेत्रलाई प्राथमिकतामा राख्दै ‘नो पार्किङ’ लेखिएका तीन, गति सीमा सूचक दुई र ‘नो हर्न’ लेखिएका दुई बोर्ड राख्ने निर्णय गरिएको छ।
उपमहानगरपालिकाले बजार र पार्किङ व्यवस्थापनलाई थप सुदृढ बनाउने तयारीमा रहेको जनाएको छ।