काठमाडौं, भदौ १८ – विश्वको सर्वोच्च शिखर सगरमाथा अब केवल आरोहणको गन्तव्य मात्र नभएर फोहर व्यवस्थापनको चुनौतीमा पनि केन्द्रित हुँदै गएको छ। पर्यटक र आरोहीहरूको बढ्दो चापसँगै सगरमाथा क्षेत्रमा दिनानुदिन फोहर थुप्रिँदै गएको छ, जसले हिमाली पारिस्थितिकी र वातावरणीय सन्तुलनमा गम्भीर असर पुर्याइरहेको छ।
यही समस्या समाधान गर्न सगरमाथा क्षेत्रमा पहिलोपटक ड्रोन प्रविधिको प्रयोग गरी फोहर सङ्कलन सुरु गरिएको छ। विद्युतीय सवारी निर्माता बिवाइडीको नेपाल प्रतिनिधि साइमक्स इंक र नेपाली ड्रोन कम्पनी एयरलिफ्ट टेक्नोलोजी को सहकार्यमा यो अभियान सञ्चालन भइरहेको हो।
साइमक्स इङ्कले एक हजार केजी फोहर सङ्कलन गर्ने लक्ष्यसहित अभियान अघि बढाएको जनाएको छ। ‘कूल द अर्थ वाइ वान डिग्री’ भन्ने विश्वव्यापी अभियानअन्तर्गत नेपालमा सुरु गरिएको यो पहल स्वच्छ ऊर्जा र शून्य कार्बन उत्सर्जनको प्रवर्द्धनमार्फत जलवायु परिवर्तन नियन्त्रण गर्ने लक्ष्यमा केन्द्रित छ।
फोहर ढुवानीमा समय र जोखिम घटाउने अपेक्षा
एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डे का अनुसार, प्रयोगमा ल्याइएका ड्रोनहरूले १५ मिटर प्रतिसेकेन्डको गति र १५ डिग्री सेल्सियससम्मको चिसोमा काम गर्न सक्छन्। यो प्रविधिले फोहर ढुवानीमा लाग्ने समय र मानव जोखिममा उल्लेख्य कमी ल्याएको छ।
“जहाँ पहिले सगरमाथाको माथिल्लो क्षेत्रबाट फोहर आधारशिविर ल्याउन ६ देखि ७ घण्टा लाग्थ्यो, अहिले १–२ मिनेटमै सम्भव भएको छ,” पाण्डेले जानकारी दिए। उनका अनुसार हाल ६,१३० मिटरको उचाइबाट फोहर सङ्कलन गरिँदैछ।
विगतदेखि जारी प्रयासको प्रविधिमैत्री विस्तार
एयरलिफ्टका अनुसार, २०२४ मा क्याम्प–१ बाट २३४ केजी र अमादब्लमबाट ६४१ केजी फोहर सङ्कलन गरिएको थियो। हालसम्म २८६ केजी फोहर ड्रोनमार्फत संकलन भइसकेको छ भने लक्ष्यअनुसार कार्य जारी छ। आगामी दिनमा मनास्लु र अन्य हिमाली क्षेत्र तथा राष्ट्रिय निकुञ्जहरूमा अभियान विस्तार गर्ने तयारी गरिएको छ।
आरोहीहरूबाट थुप्रिँदै फोहर, दण्डात्मक उपायको माग
नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष तथा अनुभवी आरोही मिङ्मा डेभिड शेर्पा भन्छन्, “प्रत्येक आरोहीसँग फोहर शीर्षकमा धरौटी स्वरूप शुल्क लिइए पनि फिर्ता दिइने प्रथाले समस्या समाधान हुन सकेको छैन।” उनका अनुसार अब फोहर व्यवस्थापनका लागि अनिवार्य शुल्क असुली गरेर मात्र कार्यान्वयनमा ल्याउनुपर्ने समय आएको छ।
सामाजिक उत्तरदायित्वबाट सुरु भएको प्रविधि अभियान
साइमक्स इङ्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ भन्छन्, “सगरमाथा हाम्रो राष्ट्रिय गौरव हो। यसलाई जोगाउन हामी सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक र प्राविधिक सहयोग गर्दैछौँ।” उनले अभियानलाई दिगो विकास र स्वच्छ वातावरणप्रतिको प्रतिबद्धता स्वरूप व्याख्या गरे।
बिवाइडीका बजार प्रमुख समिर श्रेष्ठ ले भने, “फोहर व्यवस्थापनमा ड्रोनको प्रयोग सफल भएको छ। यसअघि रोप फिक्सिङमा पनि ड्रोन प्रयोगको राम्रो अनुभव भएकाले हामीले यो विधि अपनाएका हौँ।”
सरकार–स्थानिय तह र निजी क्षेत्रको सहकार्य
अभियान सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) र खुम्बु पासाङल्हामु गाउँपालिका को सहकार्यमा सञ्चालनमा आएको हो। यसले हिमाली क्षेत्रमा सरकारी, स्थानिय र निजी क्षेत्रको सहकार्यले वातावरण संरक्षणमा नयाँ सम्भावना देखाएको छ।
प्रमुख तथ्यहरू:
-
लक्ष्य: सगरमाथाबाट १,००० केजी फोहर सङ्कलन
-
प्रविधि: १५ मिटर/सेकेन्ड गतिको ड्रोन, १५°C मा काम गर्न सक्ने क्षमता
-
हालसम्म: २८६ केजी फोहर संकलन
-
अभियान: "Cool the Earth by 1 Degree" अन्तर्गत
-
आगामी योजना: मनास्लु, अमादब्लम, अन्य हिमाली क्षेत्र र निकुञ्जमा विस्तार