झापा, भदौ १८ — वन पैदावारको संरक्षण र बिक्री वितरणमा सीमित रहँदै आएका सामुदायिक वनहरू अब पर्यापर्यटनमार्फत आयआर्जन र स्थानीय विकासमा सक्रिय बन्दै गएका छन्।
कोशी प्रदेशका नौ जिल्लाका ५४ सामुदायिक वनले पर्यटकीय गतिविधि सञ्चालन गरिरहेका छन्, जसमध्ये आधाभन्दा बढी सिमसार क्षेत्र रहेका छन्। पर्यटक आकर्षणमा सामेल भएका वनमध्ये २३ वटा झापामा, नौ सुनसरीमा, सात मोरङमा, पाँच उदयपुरमा, तीन धनकुटा, तीन तेह्रथुम, दुई इलाम, एक ताप्लेजुङ र एक सङ्खुवासभामा छन्।
प्रदेश वन निर्देशनालयका सहायक वन अधिकृत सुशान्त पोखरेलका अनुसार यी सामुदायिक वनले वनभोज स्थल, नौका विहार, मिनी चिडियाखाना, बाल उद्यान, मनोरञ्जनात्मक खेलकुद, सेल्फी स्पट, वन उद्यान लगायतका संरचना विकास गरेर पर्यटकलाई आकर्षित गरिरहेका छन्।
५४ मध्ये ३३ वटा सामुदायिक वनले सिमसार क्षेत्रलाई मुख्य आकर्षण बनाएका छन्। तीन वटा सामुदायिक वनमा मिनी चिडियाखाना छन् भने दुई वटामा वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा छन्।
झापाको कचनकबलस्थित दुर्गाभिट्टा सामुदायिक वन र कनकाईको जामुनबारी सामुदायिक वनमा रहेको उद्धार केन्द्रमा विभिन्न स्थानबाट ल्याइएका जङ्गली जनावर र पन्छीहरूको संरक्षण गरिन्छ।
कोशी प्रदेशका तीन वटा मिनी चिडियाखाना मोरङको बेलबारीस्थित बेतना सिमसार सामुदायिक वन, पथरी शनिश्चरेको मनकामना सामुदायिक वन र धरानको हरियाली सामुदायिक वनमा रहेका छन्।
प्रदेशभर जम्मा ३,७२१ वटा सामुदायिक वन रहेका छन्। तीमध्ये पर्यापर्यटनको माध्यमबाट आर्थिक तथा सामाजिक रुपान्तरणको उदाहरण प्रस्तुत गर्दै जाने वनको संख्या बढ्दै गएको वन अधिकारी पोखरेलले बताए।
-मुख्य आकर्षणहरू
-सिमसार क्षेत्रको संरक्षण र विकास
- मिनी चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्र
- नौका विहार र वनभोज स्थल
- सेल्फी स्पट, बाल उद्यान र मनोरञ्जन केन्द्र
सामुदायिक वनहरूको यो पहलले वातावरण संरक्षणसँगै ग्रामीण पर्यटन र स्थानीय रोजगारी प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।