काठमाडौं, भदौ १९— नेपालमा मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सार्वजनिक गरेको ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय प्रतिवेदन २०८१’ अनुसार आर्थिक वर्ष २०८१/८२ मा हजारौं नागरिक पीडित/प्रभावित भएका छन्।
मन्त्रालयका अनुसार सो अवधिमा नेपाल प्रहरीले १२७ जना पीडितलाई विदेश र स्वदेशका विभिन्न स्थानबाट उद्धार गरेको छ। यस्तै, दश जिल्लामा रहेका पुनःस्थापना केन्द्रहरूमार्फत ७५८ जना र विभिन्न संघसंस्थाहरूमार्फत २,७३२ जना गरी कुल ३,४९० जनालाई उद्धार तथा पुनःस्थापना गरिएको उल्लेख छ।
सीमामा ४,३०० जनाको प्रारम्भिक उद्धार
नेपाल–भारत सीमा नाका लगायतका विभिन्न स्थानमा रहेका संघसंस्थाका सूचना केन्द्रहरूले सुरक्षाकर्मीहरूसँगको सहकार्यमा ४,३०० जनालाई जोखिमपूर्ण अवस्थामा प्रारम्भिक पहिचान गरी उद्धार गरेको छ।
यीमध्ये अधिकांशलाई पुनःस्थापनासहित परिवारमा फिर्ता गरिएको मन्त्रालयले जनाएको छ।
७७ हजारभन्दा बढीलाई परामर्श सेवा
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार ती सूचना केन्द्रहरूले ७७ हजार ५०० जनालाई मानव तस्करीविरुद्ध परामर्श सेवा प्रदान गरेका छन्।
उक्त वर्षमा मात्र १७ जना बालिका बेचबिखनमा र ४६ जना बालिका अपहरणमा परेको तथा देशभर ६,५९० जना बालबालिका हराएको तथ्यांक छ। तीमध्ये ५,८३१ जना बालबालिकालाई परिवारसँग पुनर्मिलन गराइएको छ।
नीति तथा योजनामा सुधारको प्रयास
प्रवक्ता बुढाले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति र कार्ययोजना मस्यौदामा सरोकारवाला निकाय, संघसंस्था तथा पीडितहरूसँगको छलफलका आधारमा परिमार्जन गरी अन्तिम रूप दिन लागिएको जानकारी दिए।
सचेतना र समुदाय–प्रहरी साझेदारी
मन्त्रालयले सञ्चालन गर्दै आएको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ७५३ वटै स्थानीय तहमा करिब २४ हजार साझेदारी समिति गठन गरिएको छ।
यी समितिहरूले महिला हिंसा, लागूऔषध दुरुपयोग, साइबर अपराध, विपद्, बालविवाह, बहुविवाह, दाइजो प्रथा, आत्महत्या तथा मानव बेचबिखनजस्ता सामाजिक अपराधविरुद्ध सचेतना अभिवृद्धिमा सक्रिय भूमिका खेलेका छन्।
त्यसैगरी, विद्यालय सम्पर्क कार्यक्रम, सामाजिक अपराध न्यूनीकरण, समुदाय–प्रहरीबीच खेलकुद कार्यक्रम, आगलागी न्यूनीकरणलगायत विविध कार्यक्रम सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।