काठमाडौँ;भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी (Gen Z) युवाहरूको चर्किदो आन्दोलनले राजधानीको बानेश्वर क्षेत्र थप तनावग्रस्त बनेको छ।
शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन केही घण्टामै हिंसात्मक मोड लिँदा प्रहरीले गोली प्रहार गरेको थियो। प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने दर्जनौं घाइते भएका छन्। मृतकमध्ये अधिकांश २०–२५ वर्ष उमेरका रहेका छन्।
प्रदर्शन नियन्त्रण बाहिर जाँदा सुरक्षाका लागि सरकारद्वारा बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ। सडकमा सेना र प्रहरीको संयुक्त गस्ती जारी छ भने स्थान–स्थानमा बारिक निरीक्षण र तलासी चलाइएको छ।
प्रदर्शनको पृष्ठभूमि
जेनजी प्रदर्शन सामाजिक सञ्जाल प्रतिबन्धको घोषणासँगै सुरु भएको हो। विशेषगरी ‘टीकटक’, ‘इन्स्टाग्राम’ जस्ता प्लेटफर्महरू बन्द गर्ने सरकारको निर्णयविरुद्ध युवाहरू सडकमा उत्रिएका हुन्। उनीहरूले यस निर्णयलाई ‘अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला’ भनेका छन्।
यसका साथै, लामो समयदेखि कायम रहेको भ्रष्टाचार र राजनीतिक बेथितिको समेत विरोध गर्दै युवाहरूले विरोध प्रदर्शनलाई राष्ट्रिय आन्दोलनको रुप दिन थालेका छन्।
सरकारी प्रतिक्रिया
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षाको स्थिति बिग्रिन नदिन सेना परिचालन गरिएको र स्थिति नियन्त्रणमा लिन सबै प्रयास गरिने जनाइएको छ।
मानव अधिकार समूहको चिन्ता
मानव अधिकारकर्मीहरूले सरकारको बल प्रयोग र सेनाको उपस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले आन्दोलनकारीहरूप्रति दमन नगरि संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन्।
स्थानीय बासिन्दा त्रसित
प्रदर्शनका कारण बानेश्वर, मैतीदेवी, नयाँबानेश्वर, तिनकुने लगायतका क्षेत्रका बासिन्दा त्रसित भएका छन्। अधिकांश पसल, विद्यालय तथा कार्यालयहरू बन्द छन् भने जनजीवन प्रभावित बनेको छ।
स्थिति थप जटिल बन्दै गइरहेका बेला सर्वसाधारण, सामाजिक अभियन्ता र राजनीतिक विश्लेषकहरूले संवाद, संयमता र समाधान खोज्न सरकार तथा आन्दोलनकारी दुवै पक्षलाई आग्रह गरेका छन्।_Nm36nrZsFq.jpg)
_UScAQIAcVz.jpg)