काठमाडौं। नेपाल प्रहरीले राष्ट्रहित, शान्ति र कानुनी शासनलाई सुदृढ गर्न सबै नेपालीलाई सक्रिय सहकार्य गर्न आह्वान गरेको छ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा जेनजीको आह्वानमा सोमबार भएको शान्तिपूर्ण विरोधप्रदर्शनका क्रममा देखिएका घटनाबाट संगठन मर्माहत भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ, दिदीबहिनीहरूले राष्ट्रिय सुरक्षा, अपराध न्यूनीकरण र मुलुकप्रति समर्पित भई जिम्मेवारी निर्वाह गर्न आवश्यक छ।”
प्रदर्शनका क्रममा भएको जनधनको क्षति अपूरणीय र दुःखद् भएको भन्दै, परिस्थितिलाई थप जटिल हुन नदिन नागरिक–प्रहरी सहकार्य, शान्तिपूर्ण संवाद र आपसी समझदारी जरुरी रहेको पनि प्रहरीले जनाएको छ।
आन्दोलनमा घाइते भएकाहरूको उद्धार तथा उपचार, क्षतिको पुनर्निर्माण, र कुनै पनि आपराधिक गतिविधिलाई रोक्दै शान्ति पुनःस्थापना गर्नु आजको साझा दायित्व भएको प्रहरीले स्मरण गराएको छ।
प्रहरीले सार्वजनिक शान्ति–सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान र कानुन कार्यान्वयनमा सम्पूर्ण नागरिकको साथ र सहयोग अपरिहार्य भएको पनि दोहोर्याएको छ।