काठ्माडाै। देशका विभिन्न स्थानमा जेन–जी आन्दोलनका क्रममा हिंसात्मक गतिविधि बढेपछि बागलुङ, कास्की र नवलपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।
बागलुङमा जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम अर्को आदेश नआउञ्जेलसम्मका लागि आदेश लागू हुने जानकारी दिनुभयो। बागलुङ नगरपालिका–१, २, ३ र ४, गलकोट नगरपालिका–३, ५ र ६, जैमिनी नगरपालिका–१ तथा ढोरपाटन नगरपालिका–१, २ र ३ मा कफ्र्यू आदेश लागू गरिएको छ। यस अवधिमा पाँच जनाभन्दा बढी भेला, सभा, प्रदर्शन र जुलुस गर्न निषेध गरिएको छ।
कास्कीमा पनि प्रशासनले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ। भदौ २३ र २४ गते भएका विरोध प्रदर्शनका क्रममा सरकारी, अर्धसरकारी तथा निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, होटल आदिमा तोडफोड, आगजनी तथा लुटपाट भएपछि गत राति १० बजेदेखि नेपाली सेना सहित सुरक्षा निकाय परिचालन गरिएको हो। शान्ति सुरक्षा सामान्य बन्दै गएको प्रशासनले जनाएको छ। साथै कुनै अवाञ्छित गतिविधि भएमा सेनाको ०६१–५८११६०, ९७६३२४६०२२, प्रहरीको ९८५६०३९५९९, सशस्त्र प्रहरीको ०६१–५४४०८८, ९८५१२७२२०८० वा टोल फ्री १११४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
यस्तै नवलपुरमा मंगलबार प्रदर्शनकारीले विभिन्न राजनीतिक दलका पार्टी कार्यालय र नेताहरुको घरमा तोडफोड तथा आगजनी गरेका छन्। प्रहरीका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यालय र नेताका घरमा क्षति पुगेको छ। साथै कावासोती, गैँडाकोट नगरपालिका तथा गैँडाकोटस्थित मौलाकाली केबलकारको तल्लो स्टेशनमा समेत आगजनी गरिएको छ। जिल्लामा भएका क्षतिहरु संकलन गर्ने कार्य जारी रहेको र अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।