काठमाडौं, भदौ — हालै सम्पन्न जेन–जी आन्दोलनको क्रममा देशभरिका विभिन्न स्थानहरूमा भएको आगजनी, लुटपाट तथा सार्वजनिक सम्पत्तिमा तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउको कार्यमा प्रहरी तिब्र रुपमा सक्रिय बनेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएका अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूको खोजी कार्य अघि बढाइएको जनाएको छ। साथै, यस्ता घटनासँग सम्बन्धित फोटो, भिडियो वा अन्य प्रमाणहरू आमजनताबाट संकलन गर्न आह्वान समेत गरिएको छ।
सरकारी र निजी सम्पत्तिमा क्षति
सीआईबीको विज्ञप्तिमा उल्लेख भएअनुसार आन्दोलनको क्रममा सरकारी तथा निजी भवन, बैंक, वित्तीय संस्था र ऐतिहासिक दस्तावेज राखिएका संरचनामा आगजनी गरिएको छ। त्यस्तै, त्यहाँबाट बहुमूल्य कागजपत्र, जिन्सी तथा नगद चोरी भएको पुष्टि भएको छ।
प्रहरीले यस्ता चोरी भएका सामग्रीहरूलाई जानाजानी खरिद, बिक्री वा सञ्चय गर्ने जो–कोही पनि कानुनी दायरामा आउने चेतावनी दिएको छ। यदि यस्तो गतिविधि देखिएको वा थाहा पाएको खण्डमा तुरुन्त प्रहरीलाई खबर गर्न अपिल गरिएको छ।
सहयोगका लागि सार्वजनिक अपिल
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले आन्दोलनका क्रममा देशभरि सयौँ प्रहरी कार्यालयमा आगजनी भएको जानकारी दिँदै भने, "प्रहरीहरू कार्यालयमै काम गर्न नसक्ने अवस्थामा पुगेका छन्, तर घटनाका प्रमाणहरूका आधारमा दोषीमाथि कारबाही हुनेछ।"
गत चैत १५ गतेको आन्दोलनमा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरिएको स्मरण गराउँदै उनले नयाँ सरकार गठनपछि यस्ता मुद्दामा थप कारबाही अघि बढाइने जानकारी दिए।
सेना र सशस्त्र प्रहरीको सहयोग
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार, आन्दोलनका दृश्यहरू संकलन गर्न नेपाली सेना र सशस्त्र प्रहरीले पनि सहयोग गरिरहेको छ। उनका अनुसार, भाटभटेनी सुपरमार्केटमा भएको आगजनी तथा लुटपाट, केपी शर्मा ओलीको निवासबाट जिन्सी र नगद चोरी, शेरबहादुर देउवाको घरबाट लाखौँ रुपैयाँ लुटिएको जस्ता दृश्यहरू सामाजिक सञ्जालमा व्यापक रूपमा देखिएका छन्।
५१ जनाको मृत्यु, प्रहरीसमेत शहीद
आन्दोलनका क्रममा हालसम्म ५१ जनाले ज्यान गुमाएका छन्, जसमा तीन जना प्रहरी कर्मचारीसमेत छन्। महाराजगञ्जमा असई मिलन राय र जवान उत्तम थापा तथा कोटेश्वरमा सहायक हवल्दार अमृत गुरुङको अन्तिम संस्कार पशुपति आर्यघाटमा गरिएको प्रहरी स्रोतले जनाएको छ।
नेपाल प्रहरीले सार्वजनिक शान्ति र सुरक्षा सुनिश्चित गर्न नागरिक सहयोग अत्यावश्यक रहेको भन्दै आन्दोलनका घटनामा संलग्नहरूलाई चाँडोभन्दा चाँडो कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।