काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनपछि मुलुकमा नयाँ राजनीतिक अध्यायको सुरुआत भएको छ। जनदबाब र आन्दोलनको बलमा अन्ततः सत्ताको ढोका खुलेसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१(४) अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।
शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालजस्ता एक दशकभन्दा बढी समय सत्तामा बसेका नेताहरूको युग अन्त्य गर्दै युवाहरूले कार्कीको नेतृत्वलाई नयाँ आशाको रूपमा देखेका छन्। जेनजी आन्दोलनमा सहभागी युवा अमृत चापागाईं भन्छन्, “देशले नयाँ अभिभावक पाएको छ। अब मध्यावधि निर्वाचन हुँदैछ। हामी परिवर्तनको आशामा छौं।”
वरिष्ठ अधिवक्ता देवराज कटुवालले कानुन र न्यायप्रति निष्ठावान् व्यक्तिलाई नेतृत्व दिनु सकारात्मक संकेत भएको बताए। “अहिलेको परिस्थितिमा कार्कीभन्दा उपयुक्त विकल्प अरू थिएन। उहाँ कानुन जान्ने, देशप्रेमी मान्छे हुनुहुन्छ,” कटुवालले भने।
युवाहरूको क्रान्तिमा सक्रिय गणेश चौलागाईंका अनुसार मुलुकले अब स्थायित्व र समृद्धिको बाटो समाउनुपर्छ। “देशमा अस्तव्यस्तता थियो। अनुभवी मान्छेले नेतृत्व लिएको राम्रो हो। अब हामी विदेश जानु नपरोस्,” उनले जनाए।
नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद् विघटन गरिसकेका छन्। साथै नयाँ प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकिएको छ—आगामी फागुन २१ गते बिहीबारका दिन।
वर्तमान राजनीतिक संक्रमणको समाधानका रूपमा देखिएको यो कदमलाई धेरैले सकारात्मक मानिरहेका छन्। यद्यपि राजनीतिक स्थायित्व, युवा पलायनको अन्त्य र सुशासन स्थापना गर्न प्रधानमन्त्री कार्कीका लागि चुनौतीहरू उत्तिकै कठिन रहनेछ।