काठमाडौं, भदौ ३० —
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले ओमप्रकाश अर्याललाई कानुन तथा गृहमन्त्रीमा नियुक्त गरेसँगै तीव्र विवाद सुरु भएको छ। नियुक्तिपछि सपथ नलिँदै अर्याल चर्को आलोचना र प्रदर्शनको घेरामा परेका छन्।
शनिबार मध्यरातमा जेनजी आन्दोलनमा आबद्ध युवाहरुले बालुवाटारमा विरोध प्रदर्शन गरे। उनीहरूले अर्याललाई गृहमन्त्री दिनु अनुचित भएको भन्दै असन्तुष्टि जनाएका हुन्। आन्दोलनको अग्रपंक्तिमा रहेका अर्याललाई मन्त्री बनाएर सरकारले ‘संघर्षको मूल्यलाई अपमानित’ गरेको उनीहरूको आरोप छ।
सुजन गुरुङलाई माग
प्रदर्शनकारी युवाहरूले गृहमन्त्रीको जिम्मेवारी जेनजी अगुवा सुजन गुरुङलाई दिनुपर्ने वा अरु कुनै वैकल्पिक युवा अभियन्ता चयन गर्नुपर्ने माग राखेका छन्।
तर, केही युवाहरू भने गुरुङकै भूमिकाप्रति प्रश्न उठाउँदै नयाँ नेतृत्वको खोजी हुनुपर्ने धारणा राखिरहेका छन्।
कार्की क्याबिनेटको तीन मन्त्री घोषणा
प्रधानमन्त्री कार्कीले आइतबार तीन मन्त्रीहरूको नाम सार्वजनिक गरेकी थिइन् —
-
कुलमान घिसिङ: ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्री
-
रामेश्वर खनाल: अर्थमन्त्री
-
ओमप्रकाश अर्याल: कानुन तथा गृहमन्त्री
तर अर्यालको नाम सार्वजनिक भएपछि विरोध चर्किएको हो। उनी हाल काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार समेत हुन्।
शपथ समारोहको तयारी
तीनै मन्त्रीले आइतबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारी थियो। तर, अर्यालमाथिको विवादले कार्यक्रममा अन्योल सिर्जना हुनसक्ने अनुमान गरिएको छ।
प्रधानमन्त्रीको अडान
प्रधानमन्त्री कार्कीले यसअघि नै ६ महिनाभन्दा बढी पदमा नबस्ने घोषणा गर्दै, “मुलुकका अत्यावश्यक संस्थाहरूमा छानिछानी प्रहार भएको छ, कारबाही हुन्छ,” भन्दै कडा सन्देश दिएकी छिन्।
सम्बन्धित समाचार
-
बालेनका कानुनी सल्लाहकार अर्याललाई गृह मन्त्रालयको जिम्मेवारी
-
कार्की क्याबिनेटका तीन मन्त्रीले आज शपथ लिँदै
-
जेनजी आन्दोलनका मृतक परिवारको खर्च सरकारले ब्यहोर्ने