चितवन, ३० भदौ ।
जेनजी आन्दोलनका क्रममा क्षति पुगेको चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ। आन्दोलनका कारण भदौ २४ गतेदेखि पूर्णरूपमा ठप्प रहेको सेवा अदालतले एक कोठाबाट सामान्य सेवा सुरु गरेर पुनः सञ्चालनमा ल्याएको हो।
अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार आजदेखि बन्दीप्रत्यक्षीकरण निवेदनमा कारबाही, म्याद थप, र जरुरी पक्राउ पुर्जीसम्बन्धी सेवा पुनः सञ्चालनमा ल्याइएको हो। उनले भने, “संरचना बन्दै जाँदा सेवा विस्तार र थप गर्दै लगिनेछ।”
आन्दोलनको क्रममा प्रदर्शनकारीद्वारा गरिएको आगजनीबाट अदालत भवन पूर्ण रूपमा क्षतिमा परेको छ। अदालतको भौतिक संरचना, सर्भर तथा महत्त्वपूर्ण मिसिलहरूमा समेत क्षति पुगेको छ। उनले भने, “एउटा कोठाबाट दिन सकिने सामान्य सेवाहरू आजदेखि सुरु गरिएको छ।”
अदालतले अन्य नियमित सेवा, मुद्दा सुनुवाइलगायत कार्यहरूबारे थप जानकारी अर्को सूचना प्रकाशित गरी दिने जनाएको छ।
३३४ जना कैदीबन्दी फर्किए
जिल्ला कारागार भरतपुरबाट आन्दोलनको दौरान भागेका कैदीबन्दीहरू क्रमशः फर्किने क्रम जारी छ। ७४२ जना भागेकामध्ये हालसम्म ३३४ जना कैदीबन्दी फर्किसकेको कारागार कार्यालय प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए।
फर्किएकामध्ये ३० जना महिला र ३०४ जना पुरुष छन्। महिलासँग २ जना आश्रित बालबालिका पनि आएका छन्। उनले थपे, “५० जनाबाहेक सबै सम्पर्कमा आएका छन्।”
भागेकामध्ये ४ जना रूपन्देही कारागारमा र १ जना तनहुँ कारागारको सम्पर्कमा रहेको पनि उनले बताए। कारागारबाट ४६ जना महिला र ६९२ जना पुरुष भागेका थिए भने, २ जना कैदीबन्दी आन्दोलनको दिन भागेका थिएनन्। उनीहरूसँग ४ जना आश्रित बालबालिका रहेका छन्।