काठमाडौं, भदौ
जेन-जी आन्दोलनकारी युवाहरुको प्रदर्शन र आगजनीका कारण केही दिन स्थगित भएको खानेपानी मन्त्रालयको कामकाज आजदेखि पुनः नियमित रूपमा सञ्चालनमा आएको छ।
मन्त्रालयका सहसचिव रामबाबु पुरीका अनुसार यही भदौ २३ गतेको प्रदर्शनका कारण भदौ २७ गतेसम्म मन्त्रालय र मातहतका निकायहरुको कामकाज प्रभावित भएको थियो। ‘परिस्थिति सामान्य बनेसँगै आजदेखि सम्पूर्ण कामकाज पुनः सुचारु भएको छ’, उनले जानकारी दिए।
सहसचिव पुरीका अनुसार आन्दोलनका क्रममा मन्त्रालय र मातहतका १४ वटा चारपाङ्ग्रे सवारी साधन जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने ६ गाडीमा तोडफोड भएको छ। यद्यपि, मन्त्रालयको भवन र अन्य संरचनामा भने खासै क्षति नभएको जनाइएको छ।
‘पूर्ण विवरण आउन बाँकी छ, तर हामीले नियमित काम सुरु गरिसकेका छौँ,’ पुरीले भने।
यता, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर कमलराज श्रेष्ठले विभागको कामकाज सामान्य अवस्थामा फर्किएको जानकारी दिए। ‘विभागका केही गाडीमा क्षति पुगे पनि अन्य संरचनामा क्षति नभएकाले काम नियमित रूपमा सञ्चालन भइरहेको छ’, श्रेष्ठले भने।
सिंहदरबार क्षेत्रमा भएको आगजनीबाट अधिकांश भवन प्रभावित भए पनि खानेपानी मन्त्रालय जोगिएकाले काम सञ्चालनमा सहजता भएको मन्त्रालयले जनाएको छ।