काठमाडौं, भदौ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गतेको आन्दोलनका क्रममा आयोग र मातहत कार्यालयहरूबाट लुटपाट तथा चोरी भएका सामग्रीहरू फिर्ता बुझाउन सार्वजनिक आग्रह गरेको छ।
आयोगले एक सूचना प्रकाशित गर्दै काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ वा आयोगको टङ्गालस्थित केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो। यस्तै, अन्य क्षेत्रीय कार्यालयहरू (इटहरी, हेटौँडा, पोखरा, बुटवललगायत) मा लुटपाट वा चोरी गरिएका सामग्रीहरू सम्बन्धित कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन पनि आग्रह गरिएको छ।
सूचनामा भनिएको छ, “उक्त तोडफोड र चोरीमा संलग्न व्यक्तिहरूको पहिचानका लागि सिसिटिभी फुटेजको सहायता लिइँदैछ। यदि कोही कसैले आयोग वा मातहत कार्यालय क्षेत्रबाट यस्ता सामग्री लिएको वा पाएको भए, कानूनबमोजिमको कारबाहीबाट बच्न उक्त सामग्री फिर्ता गर्नु उपयुक्त हुनेछ।”
आन्दोलनका क्रममा आयोगबाट हराएका सामग्रीमा सवारीसाधन (दुईपाङ्ग्रे र चारपाङ्ग्रे), टिभी, कम्प्युटर सेट, मोबाइल, ल्यापटप, क्यामरा, आइप्याड, माइक्रो ओभन, हिटर, स्क्यानर, हार्ड डिस्क, पङ्खा लगायतका सरसामानहरू रहेका छन्।
आयोगले सार्वजनिक सम्पत्ति रक्षा गर्नु सबैको जिम्मेवारी भएको स्मरण गराउँदै लिइएका वा भेटिएका सामग्रीहरू छिटोभन्दा छिटो बुझाउन आग्रह गरेको छ।