काठमाडौँ, भदौ
अन्तरिम सरकारको नेतृत्व सम्हालेकी सुशीला कार्कीले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनप्रति मुलुकका अधिकांश राजनीतिक दलहरूले सकारात्मक धारणा व्यक्त गरेका छन्।
भदौ २३ र २४ गतेको जनआन्दोलनपछि गठन भएको अन्तरिम सरकारले संसद् विघटनसँगै नयाँ निर्वाचन मिति घोषणा गरेको थियो। सुरुवाती रूपमा प्रमुख दलहरूले यसप्रति अनिच्छा देखाए पनि पछिल्लो समय तिनै दलहरूले तोकिएको मितिमा निर्वाचन हुनुपर्नेमा सहमति जनाएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार धारणा सार्वजनिक गर्दै भने, “अन्तरिम सरकार गठन भइसकेको छ, निर्वाचनको मिति घोषणा भएको छ। जिम्मेवार लोकतान्त्रिक पार्टीको हैसियतले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔँ र आवश्यक सहयोग गरौँ।”
यता, नेकपा एमालेले पनि तोकिएको मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ। पार्टी महासचिव शंकर पोखरेलले “यो सरकार अन्तरिम भएकाले यसको पहिलो दायित्व समयमै चुनाव गराउनु हो,” भन्दै सुशासन, भ्रष्टाचार नियन्त्रण र विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि “चुनावको मिति घोषणा भइसकेको अवस्थामा अब हामीले घोषित मितिमा निर्वाचन गर्नुपर्छ,” भन्दै दलहरूलाई एकजुट हुन आह्वान गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने ताजा जनादेश अपरिहार्य भएको बताउँदै लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउन समयमै निर्वाचन आवश्यक रहेको जनाएको छ। रास्वपाका प्रवक्ता मनिष झाले भने, “समयमै ताजा जनादेशमा गइ लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनु अहिलेको प्राथमिकता हो।”
जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी लगायतका दलहरूले पनि चुनावलाई समर्थन जनाएका छन्। उनीहरूले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरिनुपर्ने माग राख्दै आएका छन्।
यद्यपि प्रमुख चार दलसहित अधिकांश दलहरू चुनावप्रति सकारात्मक देखिए पनि उनीहरूले औपचारिक रूपमा पार्टी निर्णय भने गरेका छैनन्। राजनीतिक वृत्तमा यतिखेर चुनावको तयारीसँगै दलहरूको आन्तरिक छलफल तीव्र हुँदै गएको संकेत मिलेको छ।
निर्वाचनका लागि सरकारी तयारी र दलहरूको सहभागिता सुनिश्चित हुने हो भने मुलुक स्थायित्व र लोकतान्त्रिक अभ्यासको दिशामा अघि बढ्न सक्छ भन्ने आशा गरिएको छ।