काभ्रेपलाञ्चोक,
मनसुन सुरु भएयता रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको बीपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा मंगलबार बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले मनसुनको अन्त्यसँगै दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै यात्रुहरूको सहजता तथा सडक सुरक्षालाई ध्यानमा राख्दै राति पनि सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको हो। समितिका अनुसार स्वीकृत सुरक्षा कार्ययोजना अन्तर्गत निर्णय लिइएको हो।
गत असार पहिलो सातादेखि राति १२ घण्टासम्म सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको थियो। बाढीपहिरोको उच्च जोखिमका कारण काभ्रेको धुलिखेलदेखि सिन्धुलीको नेपालथोकसम्म रातिको समयमा सवारी आवागमन निषेध गरिएको थियो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिनका लागि रातिको आवतजावतमा प्रतिबन्ध लगाइएको थियो।
यसअघि असार ७ गतेदेखि काभ्रे, सिन्धुली र रामेछाप जिल्लाको अन्तरजिल्ला सुरक्षा समन्वय समितिको निर्णयअनुसार साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म तथा साउन महिनाभर साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म राजमार्ग सञ्चालनमा रोक लगाइएको थियो।
गत वर्ष असोजमा आएको बाढीपहिरोले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्म करिब ८ किलोमिटर सडक बगाएको थियो। सो क्षेत्र अस्थायी रूपमा मात्र सञ्चालनमा ल्याइएको थियो।
१६० किलोमिटर लम्बाइको बीपी राजमार्गमा विशेषगरी सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर तथा नेपालथोकदेखि धुलिखेलसम्म ५० किलोमिटर सडक खण्डमा ठूलो क्षति पुगेको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार क्षतिग्रस्त सडकको स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइएको छ।
पूर्वी नेपाललाई राजधानी काठमाडौंसँग छोटो दूरीमा जोड्ने महत्त्वपूर्ण राजमार्ग मानिने बीपी राजमार्ग हुँदै दैनिक हजारौं सवारीसाधन सञ्चालनमा रहने गरेका छन्।