भोजपुर, — भोजपुर सदरमुकाम नजिकैको सुन्तले–बाघखोर क्षेत्र आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा विकास हुँदै गएको छ। हिमशृंखलाको मनोरम दृश्य, स्वच्छ हावापानी, सांस्कृतिक विविधता र स्थानीय स्वादिलो परिकारको अनुभव लिन सकिने यो रमणीय ठाउँ पछिल्लो समय आन्तरिक पर्यटकको मुख्य रोजाइ बन्न थालेको छ।
बाघखोरका होटल व्यवसायी गणेश तामाङका अनुसार दैनिक दर्जनौँ पर्यटक यो क्षेत्रमा पुग्ने गरेका छन्। “भोजपुर आउने अधिकांश पर्यटकले कम्तीमा एकपटक यो क्षेत्र अवश्य भ्रमण गर्छन्,” उनले बताए।
प्राकृतिक र सांस्कृतिक मोह
करिब २,४०० मिटर उचाइमा रहेको यो क्षेत्रबाट सगरमाथा, मकालु, कञ्चनजंघा, गौरीशंकर लगायतका हिमशृंखला तथा अरुण उपत्यका, साल्पासिलिछो, मैयुङ डाँडा, टेम्केडाँडा, चखेवा भन्ज्याङ जस्ता प्रसिद्ध स्थलहरूको अवलोकन गर्न सकिन्छ।
त्यसैगरी, यहाँ बसोबास गर्ने राई, शेर्पा र तामाङ समुदायको जीवनशैली, परिकार, भाषा र भेषभूषा समेत पर्यटकका लागि थप आकर्षण बनेका छन्।
पूर्वाधार विस्तारको आवश्यकता
सुन्तले र बाघखोर क्षेत्र भोजपुर–दिङ्ला सडकखण्डमा अवस्थित छन्, जसले सडक पहुँच सहज बनाएको छ। भोजपुर सदरमुकामबाट सुन्तले १० किलोमिटर र बाघखोर १२ किलोमिटर दूरीमा पर्छन्।
पर्यटकलाई लक्षित गर्दै यहाँ भ्यु टावर र वनभोजस्थल निर्माण गरिएको छ। तर, आवश्यक पूर्वाधारको अभावमा ठूलो संख्यामा पर्यटक आएमा व्यवस्थापनमा समस्या देखिएको स्थानीयको गुनासो छ।
शान्त वातावरणमा विश्राम खोज्नेका लागि उपयुक्त
शहरी व्यस्तता र भीडभाडबाट केही समय टाढा रहन चाहने, शान्त र स्वच्छ वातावरणमा प्राकृतिक सौन्दर्य र सांस्कृतिक अनुभव एकैसाथ लिन चाहने पर्यटकका लागि सुन्तले–बाघखोर क्षेत्र उत्कृष्ट विकल्प बन्ने देखिएको छ।
स्थानीय सरकार तथा पर्यटन प्रवर्द्धनमा संलग्न निकायहरूबाट आवश्यक पूर्वाधार निर्माण तथा प्रचार–प्रसारमा ध्यान दिन सके, यो क्षेत्र पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्ने सम्भावना देखिएको छ।