काठमाडौं।जेनजी आन्दोलनका क्रममा बहुराष्ट्रिय कम्पनी एनसेलका विभिन्न कार्यालयहरूमा तोडफोड, आगजनी र लुटपाट भएको छ। कम्पनीले एक सूचना जारी गर्दै गत भदौ २३ र २४ गतेका दिन लैनचौरस्थित मुख्यालय ‘एनसेल आइकन’सहित पोखरा, धनगढी र महेन्द्रनगरका क्षेत्रीय कार्यालयहरूमा प्रदर्शनकारीहरूले गम्भीर क्षति पुर्याएको जनाएको छ।
कम्पनीका अनुसार आन्दोलनको नाममा विभिन्न समूहहरूले कार्यालयमा तोडफोड र आगजनी गर्नुका साथै नगद, जग्गाधनी प्रमाणपत्र (लालपुर्जा), अनुमतिपत्र, सक्कल कागजात, ल्यापटप, टेलिभिजन, सेफ, विद्युतीय उपकरण, कर्मचारीका व्यक्तिगत सामान तथा गरगहना समेत लुटेर लगेका छन्।
एनसेलले ती घटनासम्बन्धी प्रमाणको रूपमा सिसिटिभी फुटेजसहित जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा उजुरी दर्ता गरिसकेको छ। साथै, कम्पनीले लुटिएका वा चोरी गरिएका सामग्री कसैको हातमा परेमा नजिकको प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक अनुरोध गरेको छ। यसो नगरे कानुनबमोजिम कडा कारबाही हुने चेतावनीसमेत दिएको छ।
एनसेलले यस्ता अपराधिक गतिविधिको छानबिन गरी दोषीहरूलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।