काठमाडौं, असोज १।
नेपालमा अहिले केरा उत्पादन प्रशस्त मात्रामा भएकोले आगामी चाडपर्वहरू—दसैँ, तिहार र छठका लागि स्वदेशी उत्पादन नै पर्याप्त हुने व्यवसायीहरूले जनाएका छन्। नेपाल केरा उत्पादक महासंघले देशभरका फलफूल तथा तरकारी थोक व्यवसायीहरूलाई विदेशी केरा आयात नगर्न सार्वजनिक रूपमा अपिल गरेको छ।
महासंघका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले हाल देशभित्र केरा उत्पादन उत्साहजनक रहेकाले आयातको आवश्यकता नरहेको बताए। “वर्तमान उत्पादनले दसैँ, तिहार र छठमा नेपाली बजारको माग धान्न सक्षम छ,” अध्यक्ष पन्तले भने, “त्यसैले सबै थोक व्यापारीहरूलाई विदेशी केरा आयात नगर्न अनुरोध गरिएको छ।”
महासंघले देशभरका फलफूल तथा तरकारी थोक व्यवसायी संघहरूलाई पत्राचार गरी भारतीय केरा आयात नगर्न स्पष्ट रूपमा चेतावनी दिएको छ। अनुरोधपत्रमा उल्लेख गरिएको छ कि वर्तमान अवस्थामा पनि विदेशी केरा निर्बाध रूपमा भित्रिरहेकोले नेपाली उत्पादनको बजार खुम्चिने, किसान विस्थापित हुने र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्ने खतरा बढेको छ।
पन्तद्वारा हस्ताक्षरित अनुरोधपत्रमा भनिएको छ, “यदि यही असोज ६ गतेपछि कसैले पनि भारतबाट केरा आयात गर्न खोजेमा त्यसबाट हुने क्षतिको जिम्मेवारी महासंघले लिने छैन। नेपाली किसान तथा समर्थकहरूबाट हुने सम्भावित प्रतिक्रिया प्रति सबै व्यापारी सचेत रहनु उपयुक्त हुनेछ।”
यसै सन्दर्भमा, चितवन, कैलाली, कञ्चनपुर, बर्दिया, नवलपरासी लगायत जिल्लाका केरा उत्पादक समितिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकार र सम्बन्धित निकायलाई केरा आयातमा तत्काल रोक लगाउन माग गरेका छन्। विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमध्ये चितवनका अध्यक्ष घननाथ महतो, कैलालीका अध्यक्ष दीपेन्द्र थारू, कञ्चनपुरका अध्यक्ष सुरेन्द्र चौधरी, बर्दियाका टोपलाल थारू, नवलपरासीका लक्खु विक, तथा अन्य प्रतिनिधिहरू रहेका छन्।
उनीहरूले स्वदेशी उत्पादनले बजार धान्न सक्ने अवस्था हुँदा हुँदै विदेशी केरा आयात गर्नु किसानको श्रममाथिको कुठाराघात हुने बताएका छन्।