काठमाडौं।जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा आगजनी गरिएको संघीय संसद् भवनको बिहीबार अवलोकन गर्दै प्रतिनिधि सभा सभामुखले देशले व्यहोरेको पीडा ‘दुखद र गम्भीर’ भएको बताएका छन्।
संसद् भवनको स्थलगत निरीक्षणपछि बोल्दै सभामुखले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि भएका आक्रमणले संवैधानिक अंगहरू कमजोर बनाउने खतरा औँल्याउँदै यस्ता घटनाले गम्भीर अवस्था सिर्जना गरेको बताएका छन्।
"देशले ठूलो पीडा भोगिरहेको छ। तर, अहिले सबै राजनीतिक शक्ति, नागरिक समाज, सुरक्षाकर्मी र सम्पूर्ण जनता मिलेर पुनर्निर्माण र समाधानको दिशामा अघि बढ्नुपर्ने समय हो," सभामुखले भने।
उनले आन्दोलनको अधिकारप्रति सम्मान जनाउँदै भने, "शान्तिपूर्ण आन्दोलन लोकतन्त्रको सौन्दर्य हो, तर सार्वजनिक सम्पत्तिमाथिको आक्रमण लोकतान्त्रिक मूल्यविपरीत हो।"
सरकारले संसद् भवन पुनर्निर्माण तथा सुरक्षाको पुनरावलोकन गर्ने तयारी गरिरहेको जनाइएको छ। हाल संसद् भवनमा भएको क्षतिको मूल्याङ्कन कार्य भइरहेको छ।
यस्तै, सुरक्षासम्बन्धी निकायले भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न रणनीति तयार पार्ने तयारी गरिरहेको छ।