झापा ।झापाको मेचीनगर नगरपालिका–१ अन्तर्गत बाहुनडाँगीमा शनिवार बिहान एक माउ हात्ती मृत अवस्थामा फेला परेको छ। करिब २२ वर्षको अनुमान गरिएको उक्त हात्ती स्थानीय खेतको छेउमा मृत अवस्थामा भेटिएको हो।
प्रारम्भिक अनुसन्धान अनुसार हात्तीको मृत्यु करेन्ट लागेर भएको आशंका गरिएको छ। स्थानीय किसानले बिहान खेततिर जाँदै गर्दा मृत हात्ती देखेपछि तत्काल डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए।
शव भेटिएको स्थान वरपर अव्यवस्थित रुपमा टाँगिएका विद्युतीय तारहरू देखिएको र केही स्थानमा खुला करेन्ट प्रवाह भइरहेको हुनसक्ने जनाइएको छ। यसै कारण अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।
घटनास्थलमा वन अधिकृत, प्राविधिक तथा प्रहरीको टोली पुगेको छ भने वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत थप अनुसन्धान अघि बढाइएको छ।
बाहुनडाँगी क्षेत्र वन्यजन्तु—मानव द्वन्द्वको दृष्टिले संवेदनशील मानिन्छ। स्थानीयका अनुसार पछिल्ला वर्षहरूमा हात्तीको आवागमन बस्ती क्षेत्रमा बढ्दो छ। वन फडानी, अतिक्रमण र जनसंख्या वृद्धिका कारण हात्तीको बसोबास क्षेत्रमा मानवीय अतिक्रमण बढेपछि यस्तो समस्या उत्पन्न हुँदै आएको हो।
विशेषगरी झापाको बाहुनडाँगी, कचनकवल, बुद्धशान्ति लगायतका क्षेत्रमा हात्तीहरूले बस्तीमा पसेर बाली नष्ट गर्ने, आक्रमण गर्ने घटना बारम्बार घटिरहेका छन्। वन विभागले हात्ती र मानिसबीचको द्वन्द्व न्यूनिकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै आएको छ।