सिमकोट, हुम्ला
हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै यहाँको परम्परागत ढुवानी प्रणालीमा आमूल परिवर्तन आएको छ। लामो समयदेखि दुर्गम गाउँहरूमा नुन, चामल, तेल, लत्ताकपडा लगायतका सामग्री बोक्ने प्रमुख साधनका रूपमा प्रयोग हुँदै आएको खच्चड अहिले हराउँदै जान थालेका छन्।
पहिले गाउँगाउँमा खच्चड, घोडा र डोको–नाम्लोको माध्यमबाट ढुवानी गरिँदै आएको सामग्री अब कार, जीप, ट्रक र ट्याक्टर जस्ता सवारी साधनमार्फत सहजै पुग्न थालेको छ। यातायात सुविधा विस्तार भएसँगै न त खच्चड प्रयोग भइरहेको छ, न त त्यसको व्यापार नै टिकिरहेको छ।
अदानचुली गाउँपालिका–३ का हर्कदन फडेरा लामो समयदेखि खच्चड पालन व्यवसायमा संलग्न छन्। उनले भने, “पहिलेजस्तो काम अब छैन, सवारीसाधन गाउँसम्म पुगेपछि खच्चड पाल्ने काम घाटामा गयो। अब त इतिहास जस्तै हुँदैछ यो पेसा।”
उनका अनुसार सडकले गाउँमा प्रवेश गरेसँगै ढुवानीमा समय र लागत दुवै घटेको छ। पहिले एक ठाउँबाट अर्को ठाउँमा सामग्री पुर्याउन दिनौं लाग्थ्यो भने अहिले केही घण्टामै काम सकिने भएको छ। यसले गर्दा खच्चडमार्फत व्यापार गर्नेहरूको आम्दानीमा गिरावट आएको छ।
“काम नहुँदा खच्चड पाल्न पनि मुस्किल परेको छ,” फडेरा भन्छन्, “चाहिने दाना, घाँस, पानीको जोहो गर्न सजिलो छैन। अब त गाडी चलाउन थालेका छौं, बाध्यताले।”
फडेराजस्तै जिल्लाका अन्य धेरै व्यापारी र पूर्व खच्चड व्यवसायी पनि अहिले वैकल्पिक रोजगारीतर्फ आकर्षित भएका छन्। समयको मागअनुसार परम्परागत पेशाबाट आधुनिक परिवहन माध्यमतर्फ मोडिनुपर्ने बाध्यता उनीहरूले महसुस गरिरहेका छन्।
हुम्ला यस वर्ष मात्रै औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको भए पनि अधिकांश गाउँमा सडक केही वर्षअगाडि नै पुगेको थियो। विस्तारै सवारीसाधन सञ्चालन हुन थालेपछि खच्चड व्यवसाय पनि संकटमा पर्न थाल्यो।
एक समय हुम्लाको अर्थतन्त्र, संस्कार र जीवनशैलीसँग गासिएको खच्चड यातायात अहिले सम्झनाको विषय मात्र बन्न थालेको छ। विकाससँगै परम्परा लोप हुने क्रम हुम्लामा स्पष्ट देखिन थालेको छ।