चितवन, असोज ५ — नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाउने कार्य आज बिहानैदेखि तीव्र गतिमा सुरु गरिएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा सयौं यात्रु र सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्।
शुक्रबार साँझ इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा ठूलो पहिरो खस्दा करिब १६ मिटर उचाइ र १० मिटर चौडाइको पहिरोले १६० मिटर सडक पूर्णरूपमा अवरुद्ध बनाएको हो। पहिरो करिब ७० मिटर माथिबाट खसेको जनाइएको छ।
डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन मुग्लिनतर्फबाट तीनवटा र नारायणगढतर्फबाट दुईवटा भारी उपकरण प्रयोग गरिएको छ। तर पहिरो पन्छाउने क्रममा माथिबाट निरन्तर पहिरो खस्ने क्रम जारी रहेकोले काममा ढिलाइ भइरहेको छ।
शनिबार राति अँध्यारोमा काम गर्न कठिन भएकाले पहिरो पन्छाउने कार्य रोकिएको थियो। आज पुनः पहिरो नखसेको खण्डमा दिउँसोभित्र सडक सञ्चालनमा ल्याइने अनुमान गरिएको छ। यस सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन्।
जिल्ला प्रशासन कार्यालय चितवनले यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
अलपत्र यात्रुका लागि निःशुल्क खाना, पानी र बसोबासको व्यवस्था
पहिरोका कारण बाटोमै रोकिएका यात्रुहरूका लागि जेसीज इच्छाकामनाको अगुवाइमा निःशुल्क खाना, खाजा र पानी वितरण गरिएको छ। जेसीजका उपाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार स्थानीय युवाहरूको सहयोगमा मगर समाज मुग्लिनको भवनमा राति सुत्ने व्यवस्था समेत मिलाइएको छ।
शनिबार दिनभर चाउचाउ, बिस्कुट र पानी वितरण गरिएको थियो भने जिल्ला प्रशासनको समन्वयमा पनि राहत सामग्री बाँडिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
सुरक्षाकर्मी, स्थानीय स्वयंसेवक र सडक डिभिजनको संयुक्त प्रयासमा पहिरो पन्छाउने कार्य भइरहेको छ। जनजीवन सामान्य अवस्थामा फर्काउन तीव्र प्रयास भइरहेको बताइएको छ।