- हामी फरक धातुले बनेका माओवादी हौं
- कुनै पनि मूल्यमा संविधान, लोकतन्त्र, क्रान्तिका उपलब्धिहरु र यसको प्रतीक राष्ट्रपतिलाई जोगाउन दर्हो साथ दियौं
- हाम्रै पहलकदमी समेतका कारण आज संविधान जोगिएको छ, व्यवस्था जोगिएको छ
- जेन जीले उठाएका प्रत्यक्ष कार्यकारीलगायतका मागहरु सम्बोधन गर्नुपर्ने अडान प्रस्तुत गर्यौं
नेकपा माओबादी केन्द्रको आजबाट शुरु भएको केन्द्रिय कमिटीको बैठकमा प्रस्तुत गरेको अबधारणा पत्रका केही कुरा
प्रतिकुल अबस्थामा पनि बिचलित नभइ प्रतिगमनका मतियारहरु सग जटिल अवस्थाबीच पनि हामीले आफ्नो तर्फबाट पहलकदमी लिइरह्यौं ।
यो बीचमा राष्ट्रपति, नेपाली सेना, राजनीतिक दल र अन्य विभिन्न पक्षबीच प्रत्यक्ष संवाद गरियो जसको परिंणाम केही हद सम्म सबिधानको रक्षा गर्न सकियो।
भदौ २६ गते राष्ट्रपति निवासमा पुगेर रातभर विभिन्न पक्षसँग वार्तामा संलग्न भयौं । कुनै पनि मूल्यमा संविधान, लोकतन्त्र, क्रान्तिका उपलब्धिहरु र यसको प्रतीक राष्ट्रपतिलाई जोगाउन दर्हो साथ दियौं । यो सामान्य पहल थिएन ।
गर्वका साथ भन्नुपर्छ, हाम्रै पहलकदमी समेतका कारण आज संविधान जोगिएको छ, व्यवस्था जोगिएको छ ।
वार्तामा हामीले संविधान र लोकतन्त्रमा कुनै सम्झौता गर्न नसकिने, संसदबाटै नयाँ सरकार गठन गरी समस्याको निकास खोजिनुपर्ने, संसदबाटै नयाँ जनादेशमा जानुपर्ने, संसदले नियमित कारवाही नगर्ने तर जेन जीले उठाएका प्रत्यक्ष कार्यकारीलगायतका मागहरु सम्बोधन गर्नुपर्ने अडान प्रस्तुत गर्यौं ।
राष्ट्रपति र अन्य पक्षबाट यो प्रस्तावमा जान नसकिने मत राखिएपछि हामीले वैकल्पिक प्रस्तावका रुपमा आवश्यकताको सिद्धान्त अनुसार तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने, उक्त नियुक्तिलाई संसदले अनुमोदन गर्नुपर्ने, संसदले नियमित काम नगर्ने, जेन जी आन्दोलनले उठाएका मागहरुलाई सम्बोधन गर्ने गरी संसद स्वयंले नै आफूलाई निष्क्रिय बनाएर जनादेशमा जानुपर्ने मत राख्यौं ।
यसो भएमा मात्रै संवैधानिक र राजनीतिक प्रक्रियाले निरन्तरता पाउने र प्रधानमन्त्री नियुक्तिमा हाम्रो सहमति रहने हाम्रो अडान रह्यो । तर घटनाक्रम त्यसरी अघि बढेन ।
त्यसैले संविधानबमोजिम नयाँ प्रधानमन्त्रीको नियुक्ति नहुनु र संसदले नियुक्ति तथा नयाँ जनादेश प्रक्रियाको स्वामित्व नलिइ राजनीतिक निकासको प्रक्रिया अघि बढेकाले हामीले असहमति जनाएका हौं ।
विशेष महाधिवेशनबारे
क. जेन जी आन्दोलनपछि विकसित परिस्थितिमा विशेष महाधिवेशन आयोजना गरिने छ । वर्तमान केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने ।
ख. आयोजक समितिमा वर्तमान केन्द्रीय समिति, प्रदेश पदाधिकारी तथा केन्द्रीय प्रतिनिधिहरु रहने छन् ।
ग. अध्यक्षलगायत सबै पदाधिकारीको व्यवस्था तत्कालका लागि स्थगित गर्ने ।
घ. महाधिवेशन अवधिसम्मका लागि अध्यक्ष आयोजक समितिको संयोजकको भूमिकामा र पदाधिकारी आयोजक समितिको सचिवालयको भूमिकामा रहने ।
ङ. सचिवालयले विशेष महाधिवेशन प्रतिनिधि छनौट कार्यविधि तयार गर्नेछ।
अनुसूचि १ मा उल्लेख भएअनुसार निर्धारित गरिएको प्रतिनिधि संख्याका आधारमा सम्बन्धित समिति तथा संगठनहरुले जनवादी अभ्यासमार्फत् प्रतिनिधि छनौट गरी महाधिवेशन हुनुभन्दा कम्तीमा १५ दिन अगाडि केन्द्रीय कार्यालयमा विवरण पठाउनु पर्नेछ ।
च. महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा संगठनात्मक प्रतिवेदन महाधिवेशनको मितिभन्दा एक महिना अगाडि नै सबै समितिमा छलफलका लागि पठाइनेछ । सम्बन्धित समितिहरुले लिखितरुपमा केन्द्रीय कार्यालयमा सुझाव दिनुपर्नेछ ।
यसका साथै पार्टीको विचार, कार्यदिशा, कार्ययोजना, कार्यशैली, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा सार्वजनिक संवादका विभिन्न माध्यममार्फत् जनस्तरमासमेत सुझाव संकलन गर्ने ।
छ. महाधिवेशनमा जेन जीलगायत युवाहरुको अधिकतम सहभागिताका लागि वातावरण तयार पार्ने ।
आम निर्वाचनबारे
देशी विदेशी प्रतिक्रियावादीहरुले आगामी फागुन २१ मा घोषित आम निर्वाचनलाई सम्पन्न हुन नदिने र देशलाई थप संकटतर्फ धकेल्ने षडयन्त्र गरिरहेको सन्दर्भमा हाम्रो पार्टी दृढतापूर्वक तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन र तयारीमा सम्पूर्णरुपले होमिनु पर्दछ ।
महाधिवेशन र निर्वाचन तयारीको कामलाई सँगसँगै अगाडि बढाउनु पर्दछ । निर्वाचनमा जेन जी तथा युवा पुस्ताको उल्लेख्य उम्मेदवारी चयनका लागि लोकतान्त्रिक विधि र सहभागितामूलक पद्दति अपनाउने तथा युवा पुस्ता र नयाँ अनुहारलाई प्राथमिकता दिने नीति लिने ।
पार्टी एकता तथा ध्रुवीकरणबारे
राष्ट्रिय स्वाधिनता र लोकतन्त्र गम्भीर संकटमा रहेको वर्तमान सन्दर्भमा विशेष महाधिवेशन घोषणासम्बन्धी मूल स्पिरिटलाई ध्यानमा राख्दै समाजवादी मोर्चामा रहेका दलहरुसँग पार्टी एकता र ध्रुवीकरणको प्रक्रिया सँगसँगै अगाडि बढाइनेछ ।
यसबाहेक संविधानको रक्षा तथा घोषित समयमा निर्वाचन सम्पन्न गराउने सवालमा नीति तथा विचार मिल्ने शक्तिहरुसँग राजनीतिक सहकार्य गरिनेछ ।
राहत तथा पुनर्निर्माणबारे
जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका पार्टीका सबै संरचनाहरुको पुनर्निर्माणका लागि राष्ट्रिय अभियान सञ्चालन गरिनेछ ।
सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माणमा पार्टी समितिहरुले सम्बन्धित निकायहरुसँग समन्वय गरी स्वयंसेवक तथा आवश्यक सहयोग परिचालन गर्ने ।
पार्टीका क्षतिग्रस्त संरचनाहरु पुनर्निर्माणका लागि पार्टी सदस्य र समर्थकहरुको सहयोगबाट कोष खडा गर्ने ।
जनपरिचालन तथा जनसम्बन्धबारे
दशैं तिहार, नेपाल संवत, छठ लगायतका बिभिन्न राष्ट्रिय पर्वहरुका सन्दर्भमा विभिन्न तहका पार्टी समितिहरुले ठोस कार्यक्रम गरी जनपपरिचालन र जनसम्बन्ध विस्तार गर्ने ।
श्रम तथा उत्पादनमा जोडिने
किसानहरुको अन्नबाली संकलन लगायतका जनतासँग प्रत्यक्ष जोडिने श्रम तथा उत्पादनका बारेमा पार्टी समितिहरुले ठोस योजना बनाई कार्यान्वयन गर्ने । स्थानीयस्तरमा जनताको आवश्यकता अनुसार बाटोघाटो, पुल, पुलेसा, सामुदायिक भवन, विद्यालय लगायतका श्रमदानका कार्यमा सक्रिय सहभागिता जनाउने ।
स्वयंसेवक तथा जनसुरक्षा परिचालन
जेन जी आन्दोलनमा भागेका कैदीबन्दी तथा सामाजिक अराजकताका कारणले जनतामा असुरक्षा बढेको छ । स्थानीय पार्टी समितिहरुले जनताको जीउधन रक्षा तथा जनताको सुरक्षाका लागि विभिन्न तहको जनस्वयंसेवक परिचालन गरी जीवन तथा व्यवसायको सुरक्षामा स्वयंसेवक परिचालनको व्यवस्था गर्ने ।
अन्तमा,
देशमा विकसित भएको पछिल्लो राजनीतिक परिस्थितिमा नेपाली क्रान्ति र परिवर्तनको मुख्य संवाहक शक्तिकारुपमा नेपाली जनताले हामीबाट राजनीतिक र विचारधारात्मक स्पष्टताको मात्रै होइन, संगठनात्मक कार्यशैली, जीवनशैली र सांस्कृतिक रुपान्तरणको समेत माग गरेका छन् ।
हामी फरक धातुले बनेका माओवादी हौं, हामीलाई इतिहासले यथास्थितिमा बस्ने छुट दिएको छैन । त्यसैले हरेक जटिलता र चुनौतीलाई चिर्दै अघि बढ्न हाम्रा कार्यशैलीहरुलाई जनअपेक्षा अनुरुप बदल्दै पार्टीको नेतृत्वदेखि सबै तहसम्म सांस्कृतिकरुपमा समेत रुपान्तरित हुनैपर्दछ ।