काठ्माडाैं । आज विजया दशमी, मान्यजनको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने पावन अवसर हो। नवरात्र समाप्त भएपछि दशमीका दिन देवीको विसर्जन गर्ने धार्मिक परम्परा छ। दुर्गाभक्तितरङ्गिणीमा उद्धृत देवीपुराणको वचनअनुसार, नवरात्रपछि दशमी तिथिमा बिहान विधिपूर्वक पूजा गरी गीत तथा बाजागाजासहित देवीलाई विसर्जन गर्नुपर्दछ।
विसर्जन गर्ने क्रममा भक्तहरूले प्रार्थना गर्दै भन्नुपर्दछ– "हे भगवती! मलाई रूप, ऐश्वर्य र सन्तान प्रदान गर, मेरा शत्रुहरूलाई नाश गर। मलाई धन र सबै कामना पूर्ति गर। हे महिषासुरमर्दिनी, महामाया, चण्डिका, मुण्डमालिनी! मलाई आयु, आरोग्य र ऐश्वर्य प्रदान गर। म तपाईँलाई नमस्कार गर्दछु।"
देवीलाई उठाउने मन्त्र उच्चारण गर्दै बुद्धिमान नरनारीले प्रार्थना गर्छन्– "हे चण्डेशी देवी! मैले अर्पण गरेको पूजा लिएर उठ्नुहोस्। आफ्ना आठवटा शक्तिसहित मेरो कल्याण गर्नुहोस्। अब तपाईँ आफ्नो धाममा जानुहोस्।" मूर्तिलाई उठाउँदा भनिन्छ– "हे देवी! वृद्धिका लागि नदीको जलमा जानुहोस् र त्यहाँ स्थिर भई विराजमान हुनुहोस्।" त्यसपछि मूर्तिलाई जलमा प्रवाहित गरिन्छ।
विसर्जनपछि घर फर्केर शान्ति कलशको जल अभिषेक गर्नुपर्दछ। ब्राह्मणलाई भोजन गराई दक्षिणा दिनुपर्दछ। त्यसपछि घडाको जलले अभिषेक गरी देवीलाई चढाइएको रातो र सेतो वस्त्रलाई प्रसादस्वरूप घाँटीमा लगाइन्छ। घरका मूलमान्छेबाट अवीर, दहीमा मुछिएको चामलको टीका निधारमा, जमरा टाउकोमा लगाई आशीर्वाद लिनुपर्छ। अन्ततः आफन्तजनसँग भगवतीको प्रसाद ग्रहण गर्ने चलन छ।
दशैंका आशिषहरू विशेष छन्। मन्त्रमा भनिएको छ– अश्वत्थामाजस्तो लामो आयु, राजा दशरथजस्तो ख्याति, रामचन्द्रजस्तो शत्रु विजयी शक्ति, नहुषजस्तो ऐश्वर्य, वायुसमान वेग, दुर्योधनजस्तो मान, कर्णजस्तो दानशीलता, बलरामजस्तो बल, युधिष्ठिरजस्तो सत्यवादिता, विदुरजस्तो नीतिज्ञता र नारायणजस्तो कीर्ति प्राप्त होस्।
यसको अर्थ हो– कल्याण होस्, महालक्ष्मी सधैँ प्रसन्न रहून्, देवताहरूले रक्षा गरून् र सधैँ महापुरुषहरूको आशीर्वाद प्राप्त होस्। स्तुतिमा भनिन्छ– जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधाका रूपमा प्रसिद्ध देवीलाई नमस्कार छ।
देवी चामुण्डालाई सम्बोधन गर्दै भनिन्छ– "हे देवी! सम्पूर्ण प्राणीको दुःख हटाउने जगदम्बा! तिम्रो जय होस्। हे कालरात्रि! तिमीलाई नमस्कार छ।" अन्त्यमा सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके मन्त्रद्वारा देवीलाई कल्याण, शरण र सिद्धिदायिनीका रूपमा स्तुति गरिएको छ।