क्षिण एशियाकै वैभवशाली सिंहदरबारमा ठूलो क्षति
काठमाडौँ । राणा प्रधानमन्त्री चन्द्र शमशेरले बनाएको ऐतिहासिक सिंहदरबारमा आगलागीका कारण ठूलो क्षति पुगेको छ। झन्डै १४ सय कोठा भएको यो दरबारलाई पुरातत्त्व विज्ञहरूले दक्षिण एशियाकै विशिष्ट सम्पदा मान्दै आएका छन्।
पुरातत्वविद् प्रकाश दर्नालले यसलाई नेपालको प्रशासनिक र सांस्कृतिक मुटु भएको भन्दै पछिल्लो क्षतिलाई अपूरणीय भने। उनले स्मरण गरे, ३० सालमा लागेको आगलागीपछि दरबारलाई पुरानै स्वरूपमा बनाउन निकै समय र खर्च लागेको थियो। “हामीसँग तस्बिर र कागजात छन्, इच्छाशक्ति भयो भने पुनर्निर्माण गर्न सकिन्छ,” उनले भने।
उनका अनुसार सुरुमा सिंहदरबारका सामानहरू अधिकांश ब्रिटेनबाट ल्याइएका थिए। विशेष घडी, कार्पेट, बाघको छाला, कलाकृति र चित्रकला अहिले नष्ट भएकाले हुबहु पुनः ल्याउन कठिन हुने उनले बताए। तर, सम्भव भएको हदसम्म पुरानै स्वरूपमा फर्काउन सकिने उनको भनाइ छ।
चन्द्र शमशेरले निर्माण गरेका कारण सिंहदरबारलाई दक्षिण एशियाकै ठूलो र प्रभावशाली दरबारका रूपमा लिइन्छ। निर्माण खर्च त्यसबेला पाँच लाख रुपैयाँ परेको दर्नालले बताए। पछि यो दरबार नेपाल सरकारको मुख्य प्रशासनिक भवन बनेको हो।
यसैबीच, आगलागीका क्रममा काठमाडौँका विभिन्न ठाउँमा तोडफोड भए पनि राष्ट्रिय अभिलेखालय भने संरक्षणकर्मीहरूले सुरक्षित राख्न सफल भएका छन्। अभिलेखालयमा रहेका ऐतिहासिक सनद, ग्रन्थ र दस्तावेज जोगाउन सकिएकोमा सम्पदा अभियन्ताहरूले सन्तोष व्यक्त गरेका छन्। 