काठ्माडाैं । रोशी खोलाको बाढी र पहिराले बीपी राजमार्ग कटान भई अवरुद्ध भएपछि काठमाडौंसँग जोड्ने वैकल्पिक पुष्पलालमार्ग प्रयोगमा आएको छ। रामेछाप, ओखलढुङ्गा, खोटाङ, उदयपुर, सोलुखुम्बुलगायतका जिल्लाबाट दसैं मनाएर राजधानी फर्किने यात्रुहरू शनिबार दिउँसोदेखि यही मार्ग प्रयोग गरेर आवतजावत गर्न थालेका छन्।
बाढीका कारण बीपी राजमार्ग बन्द भएपछि विच्छेदमा परेका सवारीसाधनलाई वैकल्पिक रूपमा रामेछाप–मन्थली हुँदै पुष्पलालमार्ग सञ्चालनमा ल्याइएको हो। शनिबार साँझ यस मार्गबाट आएका सवारीसाधनलाई दोलखाको चरिकोटमा होल्ड गरिएको थियो। प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार ३ सयभन्दा बढी सवारीसाधनलाई रातभर रोकिएपछि आइतबार बिहान गन्तव्यतर्फ पठाइएको हो।
‘बीपी राजमार्ग तत्काल सञ्चालनमा आउन नसक्ने भएकाले पुष्पलालमार्ग प्रयोगमा ल्याइएको हो,’ महतोले भने, ‘सवारी चाप बढेकाले जोखिम क्षेत्र पहिचान गरी किर्नेटार र खरिढङ्गामा प्रहरी समन्वयका साथ खटाइएको छ।’
शनिबार साँझदेखि आइतबार अपराह्नसम्म करिब ७ सयभन्दा बढी सवारीसाधनमार्फत १० हजारभन्दा बढी यात्रु पुष्पलालमार्ग हुँदै काठमाडौं पुगेका छन्। सवारीसाधनको अत्यधिक चाप र जोखिमलाई ध्यानमा राख्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
रातको समयमा जोखिम बढ्ने भएकाले यातायात व्यवसायी र चालकलाई सवारीसाधन नचलाइदिन आग्रह गरिएको छ। तर, साना तथा अत्यावश्यक बिरामी बोकेका एम्बुलेन्सले भने वैकल्पिक रूपमा यही मार्ग प्रयोग गर्न पाउनेछन्।
वैकल्पिक मार्गबारे विवरण
गएको वर्षको बाढीले तामाकोसी गाउँपालिका–५ किर्नेटार नजिक खिम्ती जलविद्युत् केन्द्र आसपासको ४ सय मिटर सडक कटान गरेको थियो। पुनर्निर्माणपछि पनि सो क्षेत्रमा जोखिम कायमै छ।
रामेछापको मन्थली हुँदै पुष्पलालमार्गबाट लामोसाँघु–जिरी सडक र त्यसपछि अरनिको राजमार्गसँग जोडिन्छ। बीपी राजमार्ग खुल्नुअघि स्थानीयहरू यही बाटो प्रयोग गर्थे।
बर्दिबास–खुर्कोट (बीपी राजमार्ग): सञ्चालनमा
खुर्कोटबाट मन्थली: १८ किमी
मन्थली–चरिकोट (पुष्पलालमार्ग): ५४ किमी
चरिकोट–काठमाडौं: १३३ किमी
कुल दूरी (बर्दिबास–काठमाडौं वैकल्पिक मार्ग): करिब ३१५ किमी
यो सडक कालोपत्र भएकोले सवारीसाधन चलाउन सहज मानिएको छ। नागढुङ्गा–मुग्लिन–नारायणगढ सडक अवरुद्ध हुँदा पनि यही मार्ग वैकल्पिक विकल्पका रूपमा प्रयोगमा आउँछ।
सोलुखुम्बुबाट पनि वैकल्पिक सञ्चालन
सोलु दूधकुण्ड नगरपालिकाले स्थान–स्थानमा अवरुद्ध सडक मर्मत गरेपछि शनिबारदेखि सल्लेरी–जिरी–चरिकोट हुँदै काठमाडौं आउने साना जिपहरू सञ्चालनमा आएका छन्। लामो दूरीका गाडीहरू निरन्तर यात्रु ओसारपसार गर्नुपर्ने भएकाले दुई चालक राख्न यातायात व्यवसायीलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए।
किर्नेटारमा तामाकोसी नदीले ठूला गाडीको सडक कटान गरेकाले केही दिनका लागि खिम्ती जलविद्युत् केन्द्रभित्रको बाटो प्रयोग गर्न दिन आग्रह गरिएको छ। कालीदह सडक खण्ड मर्मतपछि हाल पुष्पलालमार्गमा कुनै अवरोध नरहेको उनले बताए।
‘हामीले सम्पूर्ण मार्गको फिल्ड अनुगमन गरेका छौं,’ दाहालले भने, ‘तत्कालका लागि यो मार्ग सुरक्षित भएकाले खुला गरिएको हो। यात्रु र सवारीसाधनको सुरक्षाका लागि राजमार्गमा प्रहरी गस्ती परिचालन गरिएको छ।’
भाडादर र समन्वय
गएको वर्ष असोज १२ गतेको बाढीपछि पनि बीपी राजमार्ग अवरुद्ध हुँदा पुष्पलालमार्ग वैकल्पिक रूपमा प्रयोगमा आएको थियो। छोटो दूरीको बाटो अवरुद्ध हुँदा लामो दूरी यात्रा गर्नुपर्ने भएकाले यातायात व्यवसायीलाई मितव्ययी भाडादर लिने अनुरोध गरिएको छ। केही यात्रुबाट अत्यधिक भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासनले छिमेकी जिल्लासँग समन्वय गरेर उचित समाधान खोजिरहेको छ।
यसैबीच, रामेछाप प्रशासनले पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।