काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निरन्तर वर्षा र प्राकृतिक विपद्पछि पानीजन्य तथा कीटजन्य रोग फैलिने जोखिम बढ्ने भएकाले सबैलाई सचेत रहन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्राकृतिक विपद्को तत्कालीन अवस्थामा शारीरिक चोटपटक र भौतिक क्षति देखापर्ने भए पनि त्यसपछि पानीजन्य रोग पखाला, हैजा तथा कीटजन्य रोग डेङ्गी, मलेरिया आदि फैलिन सक्ने भएकाले सतर्कता अपनाउन सबै नागरिकलाई आग्रह गरिएको हो। यस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जानु पर्ने उनले बताए।
खानपान, सरसफाइ र मानसिक स्वास्थ्यमा विशेष ध्यान
डा. बुढाथोकीका अनुसार विपद्मा परेकाहरूलाई सुरक्षित बसोबास र खानपानको उचित व्यवस्था नहुँदा खानासम्बन्धी रोग, आँखा पाक्ने समस्या र मानसिक स्वास्थ्यसम्बन्धी रोगहरू समेत देखिन सक्ने भएकाले सचेत रहन आवश्यक छ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिमार्फत शुद्ध उमालेको पानी पिउन, सरसफाइमा ध्यान दिन तथा समुदायस्तरमा स्वास्थ्य सचेतना फैलाउन आग्रह गरेको छ।
आपतकालीन स्वास्थ्य सेवाका लागि हटलाइन उपलब्ध
आपतकालीन अवस्थामा तालिम प्राप्त चालक र स्वास्थ्यकर्मी सहितका एम्बुलेन्स उपलब्ध हुने व्यवस्था रहेकाले स्वास्थ्य संस्थामा जानुपर्ने अवस्थामा हटलाइन १०२ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।
त्यस्तै, स्वास्थ्यसम्बन्धी अन्य जानकारी वा आपतकालीन सहयोगका लागि १११५ मा सम्पर्क गर्न सकिने जनाएको छ।
अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन
निरन्तर वर्षा र प्राकृतिक प्रकोपका कारण पहिरो तथा अन्य दुर्घटनाबाट जनस्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले मन्त्रालयले देशभरका अस्पतालहरूलाई तत्पर अवस्थामा रहन निर्देशन दिएको छ।