बनियानी (झापा), २६ असोज
अविरल वर्षापछि आएको बाढीका कारण झापामा करिब दुई हजार ५०० बालबालिका प्रभावित भएका छन् । बाढीले जिल्लाका विभिन्न स्थानका दुई हजार पाँच सय बालबालिका प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले जानकारी दिनुभयो ।
“प्रभावित बालबालिकालाई शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “सम्बन्धित पालिकालाई पुस्तकको व्यवस्थापन गर्न भनिसकिएको छ ।” अविरल वर्षापछिको बाढीले जिल्लामा करिब चार हजार ५०० घरपरिवार प्रभावित भएकामा झण्डै तीन हजार ४०० घरपरिवार झापा गाउँपालिकाका रहेको उहाँले बताउनुभयो ।
गत २३ गतेयता झापा गाउँपालिका वडा नं १ र २ का करिब एक हजार ७०० बाढीपीडितलाई राहत प्याकेज वितरण गरिएको उहाँले बताउनुभयो । बाढीपीडितलाई राहतसँगै कृषि, पशु, पूर्वाधारलगायत क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ ।
विपद्जन्य रोगबाट बचाउन मेची प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालयको टोली प्रभावित क्षेत्रमा खटिएको सहायक प्रजिअ प्रसाईँले बताउनुभयो । पानीजन्य रोग नियन्त्रणका लागि पानी निर्मलीकरण गर्ने, शुद्ध खानेपानीको ट्याङ्की राख्ने काम भइरहेको जनाइएको छ ।
राहत वितरणका लागि विभिन्न व्यक्ति, सामाजिक सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठानले सहयोग गरिरहेका छन् । करिब चार हजार परिवारलाई वितरण गर्न सकिनेगरी खाद्यान्न व्यवस्थापन भइसकेको सहायक प्रजिअ प्रसाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले राहत वितरणका लागि खाद्यान्नको अभाव छैन ।”
जिल्ला विपद् व्यवस्थापन समितिले ‘एकका लागि एक अभियान’सँगको सहकार्यमा एकद्वार प्रणालीमार्फत जिल्लाका बाढीपीडितलाई राहत वितरण गरिरहेको छ । एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले दुई हजार परिवारलाई राहत दिन पुग्नेगरी करिब रु ६० लाख विभिन्न दाताबाट प्राप्त भइसकेको बताउनुभयो ।
बाढीपीडितलाई राहत प्याकेजअनुसार प्रतिपरिवार चामल एक बोरा, तेल एक लिटर, नुन दुई केजी, आलु पाँच केजी, दाल दुई केजी, पानी एक कार्टुन, म्याट दुई थान र कम्बल दुई थान वितरण गरिँदै आएको छ ।