बारा — पूर्व भूमि सुधार तथा कृषि मन्त्री ज्वाला कुमारी साहको घरमा आतंककारी समूहले आगजनी गरेपछि साह आफ्नो क्षेत्रका जनताको घरमा बास बस्न बाध्य भएकी छिन्। भ्रष्टाचारविरुद्ध जेएनजीले भदौ २४ गते आयोजना गरेको प्रदर्शनपछि उक्त घटनाको श्रृङ्खला शुरु भएको बताइन्छ।
साहका अनुसार, सो दिन अपरान्ह आन्दोलनका कार्यक्रम फिर्ता गरिए पनि बेलुका ६:१५ बजे आतंककारी समूह घरमा पसेर योजनाबद्ध रूपमा आगजनी गरेको थियो। “हतियार सहित मार्ने उद्देश्यले उनीहरू राति १२ बजेसम्म घरमै बसेर आगो लगाएर गए,” उनले भनिन्।
आगजनीबाट परिवार विस्थापित
आगोका कारण साह, उनका श्रीमान अमृत शर्मा बजगाई, जेठो छोरा अंशुराज बजगाई साह, माहिलो छोरा अभिषेक बजगाई साह, र कान्छो छोरा अजित बजगाई साह विस्थापित भएका छन्।
साहले सिसिटिभी फुटेजमार्फत आतंककारी समूहको पहिचान भइसकेको र प्रमाणसहित प्रहरीमा उजुरी दर्ता गराइसकेकी छिन्। “रिस र राग मानवीय गुण हो, तर कसैको निजी सम्पत्ति जलाउने अधिकार कसैलाई छैन,” उनले भनिन्।

जनताको घरमा बास, पीडामा जनताको साथ
दशैं–तिहारको माहोलमा आफ्नो घर पूर्णरूपमा ध्वस्त भएपछि साह जनताको घरमा बास बस्दैछिन्। “जनताको सुख–दुखमा साथ दिएको यही माया हो कि आज जनताले मलाई आफ्नो घरमा बस्न बोलाए,” उनले आँखा रसाउँदै भनिन्।
उनले जनताको माया र सहयोगले आफ्नो आत्मविश्वास बलियो भएको बताइन्। “दुःखको बेला जनताले घाउमा मल्हम लगाइदिए,” उनले थपिन्।
लाखाैं लगानीमा बनेको घर पाँच घण्टामा खरानी
साहले कलैयाको जग्गा बेचेर जितपुर सिमरा–१६ स्थित पुर्खौली जग्गामा ५० लाख रुपैयाँ ऋण लिएर घर निर्माण गरेकी थिइन्। पाँच वर्षमा बनेको घर आतंककारी समूहले पाँच घण्टामै खरानी बनाएको उनले दुखेसो पोखिन्।
घरमा किचन, शौचालय, हल, फर्निचर, एसीदेखि सजावटका सामग्री समेत जलेर नष्ट भएका छन्। “अब घर बनाउने कि ऋण तिर्ने भन्ने चिन्ताले पिरोलिएको छु,” उनले भनिन्।
३३ वर्षको राजनीतिक यात्रामा योगदान
बाल्यकालदेखि राजनीति र समाजसेवामा सक्रिय साहले २०६४ मा संविधानसभा सदस्य, २०६७ मा भूमि सुधार राज्यमन्त्री र २०७९ मा कृषि मन्त्रीको रूपमा योगदान दिएकी थिइन्।
उनले आफ्नो कार्यकालमा:
-
भू–माफिया नियन्त्रण,
-
लालपुर्जा वितरण,
-
सडक, पुल, विद्यालय, मठ–मन्दिर निर्माण,
-
महिलाका लागि आँखा शिविर, छात्रालाई साइकल वितरण,
-
सिचाइ र खानेपानी परियोजना जस्ता कामलाई प्राथमिकतामा राखेकी थिइन्।
उनले आफ्नो क्षेत्र नं. ३ का ३७ वटै वडामा विकास कार्यको पाइला पु¥याएको दाबी गरिन्। कृषिमन्त्रीका रूपमा उनले अव्यवस्थित, सुकुम्बासी र भूमिहिन नागरिकका लागि जग्गाको लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाएकी थिइन्।
म खाली हात आएको, खाली हात जानेछु ।
आगजनीबाट आफ्नो राजनीतिक जीवनका अमूल्य सम्मानहरू समेत खरानी भएको साहले दुख व्यक्त गरिन्। “२०६४ देखि प्रतिनिधि सभा सदस्यसम्मको यात्रामा पाएको सबै सम्मान एक वर्षअघि काठमाडौंबाट ल्याएर घरमा राखेकी थिएँ, सबै जले,” उनले भनिन्।
उनले थपिन्, “म खाली हात आएको थिएँ र खाली हात नै जानेछु। बाँकी जीवन जनताको हकहितका लागि अर्पण गर्नेछु।”
राजनीतिक प्रश्न र सुरक्षा चिन्ता
आगजनीको क्रममा भिडले “एमाले अध्यक्ष केपी ओलीकी छोरी ज्वाला कुमारी साहलाई काट्नुपर्छ” भन्ने अपशब्द बोलेको साहले बताइन्। उनले यो घटनाले मधेसी मूलका महिलाको सुरक्षासम्बन्धी ठूला प्रश्न उठाएको बताइन्।
टिप्पणी: प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ। तर पूर्व मन्त्री साह र उनका परिवार अहिले पनि जनताको घरमा अस्थायी रूपमा बसिरहेका छन्।
(नेपाल कभरका सम्पादकसँग भएकाे कुराकानीका क्रममा तयार पारिएकाे रिपाेर्ट )
केही फाेटा :-



