झापा ,असोज २९।
नेपालको फुटबल अहिले लिग नहुँदाको गम्भीर संकटमा फसेको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य डिफेन्डर अनन्त तामाङले सामाजिक सञ्जालमार्फत पोखेको पीडाले देशभरका फुटबल खेलाडी र समर्थकहरूलाई गहिरो सोचमा पारिदिएको छ। उनले सामाजिक सञ्जाल फेसबुकको आफ्नो पेजमा लेखेका छन्, 'मैदानबाहिरको अवस्था जे जस्तो भए पनि हामी खेलाडीले देशका लागि मैदानभित्र पसेपछि सधैं शतप्रतिशत दिएका छौं र दिनेछौं पनि।' नेपालमा तीन वर्षदेखि नियमित राष्ट्रिय लिग सञ्चालन हुन सकेको छैन। यस्तो अवस्थाले खेलाडीहरूको भविष्य र मनोबल दुबैलाई कमजोर बनाइरहेको छ।
तामाङ भन्छन्, 'हाम्रा प्रतिद्वन्द्वी देशका खेलाडीहरू निरन्तर उच्च स्तरको फुटबल खेलिरहेका हुन्छन्, तर हामीले आफ्नै देशमा लिग नखेलेको अब तीन वर्ष पुग्न लागिसक्यो। यसबीचमा मसँग करिअर सुरु गर्नुभएका, मभन्दा अघि खेल्न थाल्नुभएका र मभन्दा पछि खेल्न सुरु गर्नुभएका खेलाडी देश छाडेर गइसक्नुभयो। तर पनि हामी जो बाँकी छौं, सेवा–सुविधा–लिग–प्रशिक्षण जे जस्तो भए पनि आफ्नो शतप्रतिशत दिएर खेलिरहेका छौं, डटिरहेका छौं।' उनका अनुसार भिएतनामको मैदानमा 'होम म्याच' खेलेपछि नेपालमा लिग नहुने भन्ने चर्चाले थप निराश बनाएको छ। तामाङ भन्छन्, 'मैले फुटबल खेल्न एन्फा एकेडेमी पस्दा कुनैदिन यो परिस्थितिको सामना गर्नुपर्छ भनेर कहिल्यै सोचेको थिइनँ। हो, म अहिले बंगलादेशको क्लबमा अनुबन्धित छु, तर अहिले म मेरो बारेमा मात्र सोचें भने स्वार्थी हुनेछु, किनकि फुटबल टिम हामी हो।'
उनले राष्ट्रिय फुटबलको दीर्घकालीन प्रभावका बारेमा चिन्ता व्यक्त गर्दै थप लेखेका छन्, “जबसम्म मसँग राष्ट्रिय टिममा खेल्ने र राष्ट्रिय टिममा आउन घरेलु फुटबलमा खेल्ने खेलाडीले नियमित फुटबल खेल्न पाउँदैनन्, ठूला टिमसँग नतिजा अपेक्षा गर्नु गलत हुन्छ। ठूला टिम मात्र होइन, यस्तै स्थितिले निरन्तरता पाउने हो भने हामीले हराउँदै आएका टिमसँग पनि संघर्ष गर्ने आँकलन गरिरहेको छु।' सन् २०१५ मा एन्फा एकेडेमी हुँदै राष्ट्रिय टोलीमा प्रवेश गरेका अनन्त तामाङले सन् २०१६ को एएफसी सोलिडारिटी कपमा नेपाललाई उपाधि दिलाउन महत्त्वपूर्ण योगदान दिएका थिए। त्यस्तै, साफ च्याम्पियनसिप र एएफसी एशियन कप क्वालिफायरमा उनले नेपालका लागि दर्जनौं खेल खेलेका छन्। उनले साग (दक्षिण एसियाली खेलकुद) मा पनि नेपालको प्रतिनिधित्व गरेका छन्।
अहिले उनी बंगलादेशको अबहानी लिमिटेड ढाका क्लबमा अनुबन्धित छन्, जहाँ उनले उत्कृष्ट प्रदर्शन गर्दै नेपाली फुटबलको नाम उज्यालो बनाइरहेका छन्। देशका अन्य खेलाडीहरू पनि तामाङकै सरह निराश छन्। लिग नहुँदा प्रशिक्षक, रेफ्री, व्यवस्थापकदेखि सबै प्रभावित छन्। धेरै खेलाडीहरू वैदेशिक रोजगारीतिर लागेका छन्, केहीले फुटबलमै रुचि हराइसकेका छन्। तर पनि बाँकी खेलाडीहरू अझै आफ्नो देश र फुटबलका लागि लडिरहेका छन्। तामाङले एन्फा र क्लबहरूलाई पनि जिम्मेवार बन्न आग्रह गरेका छन्। उनले लेखेका छन्, 'एन्फाले लिग गर्ने जिम्मेवारी त निसंकोच पूरा गर्नु नै छ। सँगसँगै म सहभागी क्लबहरूलाई पनि अनुरोध गर्छु, तपाईंहरू फुटबल टिम निर्माण गरेर लिगको तयारी थाल्नुहोस्।
एन्फालाई फुटबल गराउन बाध्य पार्नुहोस्। अझैपनि तपाईंहरू एन्फाको बाटो ताक्नुभयो भने, क्लबहरू मात्र कागजमा सिमित हुनेछन् र खेलाडी खोजेर पनि पाउने स्थिति हुँदैन।' उनको पोस्टमा उल्लेख गरिएको अन्तिम वाक्य अहिले नेपाली फुटबलकै भावनालाई झल्काउँछ — 'खेलाडी र खेललाई जीवित राख्नकै लागि भए पनि लिग गर्नुहोस्।' अनन्त तामाङको यो सन्देश केवल उनको व्यक्तिगत गुनासो होइन, यो देशभरका फुटबल खेलाडीहरूको सामूहिक स्वर हो। देशका लागि खेल्ने, राष्ट्रिय झन्डा फहराउने ती खेलाडीहरूको मनोबल उच्च राख्नका लागि सरकारले र एन्फाले लिगलाई निरन्तरता दिनु अत्यावश्यक देखिन्छ। खेलाडीहरू मैदानभित्र देशका लागि लड्न तयार छन्, अब एन्फाले मैदानबाहिर जिम्मेवारी पूरा गर्नुपर्ने बेला आएको फुटबलका दर्शकहरूले बताएका छन्।