काठमाडौँ, ३० असोज।
नेपालका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स), वीर अस्पतालबाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने भएका छन् । राखेपमा आज आयोजित एक कार्यक्रमकाबीच राखेप र नाम्सले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी, प्रशिक्षकलाई आवश्यकताअनुरूप विशेष सेवा दिनेगरी सम्झौता भएको छ ।
राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ र नाम्सका उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतबीच उक्त सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । खेलाडी र प्रशिक्षकको सहजताका लागि सम्पर्क अधिकृत तोकेर यो सुविधा दिन लागिएको छ । यो सम्झौता पाँच वर्षको हुने र पछि सहमतिमा नवीकरण हुनेगरी अगाडि बढाइएको राखेपले जनाएको छ । नेपाली खेलकुद विकासमा थप टेवा पुग्नेगरी कूल ११ वटा सर्तहरूसहित सहकार्य भएको र नाम्सले खेलकुदमा नै काम गर्ने प्राविधिकसँगै कर्मचारीलाई पनि यो सुविधा उपलब्ध गराउनेछ । उनीहरूले विशेष ग्राह्यताका साथ दक्ष चिकित्सकको निगरानीमा स्वास्थ्य सेवा पाउने भएका छन् ।
खेलाडीले उपचारका क्रममा प्रयोगशालाबाट दिने सुविधामा विभिन्न चरणमा सहुलियत पाउनेछन् । प्रयोगशाला परीक्षण, बहिरङ्ग सेवा (ओपिडी), एक्स–रे, भिडियो एक्स–रे, अपरेसन, एमआरआई, सिटीस्क्यान र बिरामी भर्नालगायत सबै प्रकारका सेवामा अस्पतालको मूल्य सूचीबाट खेलाडीले छुटसमेत प्राप्त गर्नेछन् । अस्पतालका सबैखाले सेवामा ओलम्पियनले सबैभन्दा धेरै ८० प्रतिशत छुट पाउनेछन् । यस्तै, एसियाली र दक्षिण एसियाली खेलकुदमा पदक प्राप्त गर्ने तथा राष्ट्रिय टोलीका खेलाडीले ६० प्रतिशत, राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीले ५० प्रतिशत र राखेपका कर्मचारीले ४० प्रतिशत छुट पाउनेछन् ।
राखेपको सम्पर्क अधिकृतले प्रमाणीकरण गरेपछि मात्र प्रतिष्ठानले खेलाडी, प्रशिक्षक र कर्मचारीलाई उक्त विशेष सेवा दिनेछन् । उपचारका साथै राखेपले आयोजना गर्ने खेलकुदका प्रतियोगितामा स्वास्थ्यसम्बन्धी शैक्षिक जनचेतना, प्राथमिक उपचार, एन्टी डोपिङ, फिजियो थेरापी र पोषणसम्बन्धी विभिन्न कार्यक्रम नाम्सले दिने सहमति भएको छ । राखेप सदस्य–सचिव टङ्कलाल घिसिङले नेपाली खेलकुद विकासमा लागेका व्यक्तित्वहरूलाई यो सहकार्यले ठूलो प्रोत्साहन पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा यी दुई संस्थाको अस्तित्व भइरहँदासम्म सहकार्य होस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो ।
राखेपले सञ्चालन गरेको मिसन– २०२६ लगायत राष्ट्रिय टोलीको प्रशिक्षणमा पनि विशेष प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले नेपालको स्वास्थ्य क्षेत्रको सबैभन्दा जेठो अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग सहकार्य गरिएको घिसिङले बताउनुभयो । राखेपले राष्ट्रिय टोलीका खेलाडी र प्रतियोगिताका क्रममा घाइते भएका खेलाडीलाई बिमासँगै उपचारमा केही खर्च गर्दै आए पनि यो सहकार्यले उनीहरूलाई ढुक्कसँग प्रशिक्षण गर्ने वातावरण मिल्ने उहाँको विश्वास छ ।
नाम्सका उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले देशको पहिचान गराउने खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सहकार्य गरिएको बताउनुभयो । उहाँले स्वस्थ्य रहन खेलकुद नै सबैभन्दा बलियो माध्यम रहेको उल्लेख गर्दै आगामी दिनमा थप सहकार्य बढाउँदै लैजाने बताउनुभयो । उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहता, नाम्सका निर्देशक डा दिलीप शर्मा, डा ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय टोली तयारी समितिका निर्देशक दीपक विष्टलगायतको उपस्थिति थियो ।