काठमाडौँ, ३१ असोज।
नेपालले सुपर सिक्स चरणको आफ्नो अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै टूर्नामेन्टको ट्रफी जितेको छ । यस जितसँगै नेपालले सुपर सिक्स चरणमा १० अङ्क बनाएको छ। दोस्रो स्थानमा रहेको ओमानले आठ तथा तेस्रो स्थानको संयुक्त अरव इमिरेट्स (युएई) ले ६ अङ्क जोड्यो । शीर्ष तीनमा रहेका नेपाल, ओमान र युएईले विश्वकपको यात्रा तय गरेका छन् ।
यस्तै सुपर सिक्समा चार अङ्क बनाएको कतार चौथो, दुई अङ्क बनाएको जापान पाँचौँ र अङ्कबिहीन सामोआ अन्तिममा रह्यो । छनोट खेलमा कूल नौ टोलीले भाग लिएका थिए । जितका लागि दुई सय १२ रनको चुनौती पूर्ण लक्ष्य पछ्याएको सामोआ निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८७ रनमा समेटियो ।सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाउनुभयो । वेन्जामिन माइलाटाले ११ रन जोड्डा अन्य ब्याट्सम्यानले दोहारो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा नेपालका ललित राजवंशीले तीन विकेट लिनुभयो । यस्तै करण केसी, सन्दीप लामिछाने र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकटको क्षतिमा दुई सय ११ रन बनाएको थियो ।
नेपालका लागि ओपनर आशिफ शेख र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ६९ रन बनाउनुभएका आशिफले ४१ बलमा सात चौका र चार छक्का हान्नुभयो । यस्तै दीपेन्द्र सिंह ऐरीले ३३ बलमा दुई चौका र चार छक्काको सहयोगमा ५३ रन बनाउनुभयो । लोकेश बमले अविजित ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २१, कुशल भुर्तेलले १७ र आरिफ शेहले नौ रन बनाउनुभयो । बलिङमा सामोआका सौमानी ताई, डारियस भिसर, नोह मेड र डेनियस वर्गले एक एक विकेट लिनुभयो ।
यसअघि शुक्रबार नै भएको खेलमा ओमानले जापानलाई नौ विकेटले हराएको थियो ।जितका लागि एक सय चार रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । पहिले ब्याटिङ गरेको जापानले १८.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो ।