जुम्ला, तिला गाउँपालिका–९।जुम्लाको माथिल्लो खोप्री गाउँमा अवस्थित नदैगुफा धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण स्थल मानिन्छ । तर, प्रचारप्रसार र पूर्वाधार अभावका कारण यो गुफा अझै पनि पर्यटकको पर्खाइमै सीमित बनेको छ।
वडाध्यक्ष धनबहादुर रावतका अनुसार नदैगुफासम्म पुग्ने पदमार्ग निर्माण गरिएको भए पनि अझै भरपर्दो सडकको आवश्यकता छ। उनका अनुसार, “यो वर्ष सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ। धार्मिक पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै वडापालिका पर्यटन प्रवर्द्धनमा जुटेको छ।”
नदैगुफा क्षेत्र धार्मिक दृष्टिले विशेष मानिन्छ। दुई सय मिटर लामो यो गुफा गाईको दूधको थुनजस्तो आकारको छ र भित्रबाट पानी बग्ने गर्दछ। गुफा परिसरबाट वरिपरिका डाँडा र हिमश्रृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ, जसले आन्तरिक तथा बाह्य पर्यटक दुवैलाई आकर्षित गर्ने सम्भावना बोकेको छ।
गत वर्ष संघीय सरकारको सशर्त अनुदानबाट ९० लाख रुपैयाँ विनियोजन गरी नदैगुफाको भौतिक संरचना, पदमार्ग र धर्मशालाको निर्माण गरिएको थियो। वडाध्यक्ष रावतका अनुसार, “यो बजेटले आधारभूत संरचना तयार पार्न सहयोग पुर्याएको छ, अब प्रचारप्रसार र पहुँच विस्तार जरुरी छ।”
तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार पालिका नदैगुफालाई धार्मिक पर्यटनस्थलका रूपमा विकास गर्न दत्तचित्त भएर लागेको छ। “पूर्वतयारीका साथ काम अघि बढाइएको छ, यसलाई व्यवस्थित रूपमा विकास गर्न सके लोकप्रिय धार्मिक गन्तव्य बन्न सक्छ,” उनले बताए।
स्थानीय बासिन्दा आमकला थापाले भने, “सडक सञ्जाल विस्तार भएमा आन्तरिक र बाह्य पर्यटक आउन सजिलो हुन्छ, जसले गाउँको आर्थिक अवस्था पनि सुधार्नेछ।”
यस वर्षदेखि गुफा क्षेत्रको पहिचानका लागि होर्डिङ बोर्ड र नक्सा निर्माणको काम थालिने वडा कार्यालयले जनाएको छ। वडाका पाँच गाउँमध्ये माथिल्लो र तल्लो खोप्रीसम्म अझै सडक पुग्न नसकेकाले गुफा पर्यटकको सहज पहुँचमा आउन सकेको छैन।
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्त्वले भरिपूर्ण नदैगुफा उचित संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार भएमा जुम्लाको प्रमुख धार्मिक पर्यटन केन्द्रका रूपमा स्थापित हुने स्थानीयको विश्वास छ।