काठमाडौं, २४ भदौको आन्दोलनपछिको विध्वंसमा विभिन्न कलाकार र सेलेब्रिटी संलग्न रहेको आरोपले सामाजिक सञ्जाल ततिएको छ। संसद भवनदेखि निजी सम्पत्तिसम्ममा भएको आगजनीसँग जोडिएका केही सेलेब्रिटीका भिडियो र तस्वीर सार्वजनिक भइरहेका छन्।
स्वस्तिमा खड्का पुनः विवादमा
जेन–जी आन्दोलनको सुरुवाती चरणमै विवादमा तानिएकी नायिका स्वस्तिमा खड्का पुनः चर्चामा छिन्। ‘हामी नेपाल’ अभियानमार्फत उनले आन्दोलन हाइज्याक गरेको भन्ने आरोप लागेपछि संस्थाका अध्यक्ष सुदन गुरुङ र खड्का दुवैको भूमिकामाथि प्रश्न उठेको थियो।
गुरुङको संस्थालाई स्वतन्त्र तिब्बत विद्यार्थी युनियनले सहयोग गरेको भन्दै खड्कामाथि पनि आलोचना भएको थियो।
निश्चल बस्नेत र दीपकराज गिरी विवादमा
खड्काका श्रीमान् निश्चल बस्नेत संसद भवन जलाउने समूहमा देखिएको भिडियो सार्वजनिक भएपछि सञ्जालमा तीव्र आलोचना भइरहेको छ। भिडियोमा बस्नेतले संसद भवन जल्दा खुसियाली मनाएको दृश्य देखिएपछि उनलाई कारबाहीको मागसम्म उठेको छ।
सोही क्रममा हास्यकलाकार दीपकराज गिरीको तस्वीर पनि भाइरल भएको छ, जसमा उनी कांग्रेस नेता विमलेन्द्र निधिको घर जलेको समयमा उपस्थित देखिन्छन्। गिरी र बस्नेत दुबैले सामाजिक सञ्जालमार्फत आफूहरू निर्दोष रहेको दाबी गरेका छन्।
संगीतकार चेतन सापकोटा र अन्य कलाकार पनि चर्चामा
संगीतकार चेतन सापकोटा सिंहदरबार नजिक देखिएपछि उनीमाथि पनि आरोप लागेको छ। उनले आफू नेपाल टेलिभिजनको भवन जोगाउन गएको दाबी गर्दै भारतीय आधार कार्ड भएका व्यक्तिहरू आगजनीमा संलग्न रहेको खुलासा गरेका छन्।
त्यस्तै, नायिका वर्षा राउत र सुरक्षा पन्तको अभिव्यक्तिलाई लिएर सुरुमा आलोचना भए पनि पछिल्लो समय उनीहरू मौन देखिएका छन्।
अमनप्रताप अधिकारी र विजय लामाको भिडियो भाइरल
रियालिटी शो निर्देशक अमनप्रताप अधिकारी संसद भवन जल्ने क्रममा बनाएको भिडियोका कारण आलोचनामा छन्। उनले सो भिडियोमा राजनीतिक दलका नेतामाथि अश्लील भाषामा टिप्पणी गरेका छन्।
त्यस्तै, कलाकार तथा पाइलट विजय लामाको पनि युलेन्स स्कुल जलाउने समूहसँगको तस्वीर सार्वजनिक भएपछि उनीमाथि पनि सार्वजनिक सम्पत्ति तोडफोड उक्साएको आरोप लागेको छ।
कलाकार संघ र प्रतिष्ठानको प्रतिवाद
सञ्जालमा कलाकारमाथि भइरहेको तीव्र आक्रमणबीच नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै कलाकारको पक्षमा प्रतिवाद गरेको छ।
अध्यक्ष केपी पाठकले कलाकारहरू विगतका सबै आन्दोलनमा सहयात्री रहँदै आएको भन्दै उनीहरूको आलोचना अनुचित भएको बताएका छन्।
यसअघि, निश्चल बस्नेत, विजय बराल, ऋचा शर्मा लगायत कलाकारको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आन्दोलनका एजेन्डा र सार्वजनिक आक्रोशबारे छलफल गरेको थियो।