काठमाडौं ।उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ महापर्व–२०८२ का अवसरमा सम्पूर्ण नेपालीमा राष्ट्रियताको भावना जागृत होस् भन्ने शुभकामना व्यक्त गरेका छन्। सोमबार एक शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले छठ पर्वले राष्ट्रिय एकता, सद्भाव र मेलमिलापको सूत्रलाई अझ मजबुत बनाउन सकोस् भन्ने आशा व्यक्त गरे।
उनले भने, “छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव, प्रेम र मेलमिलापको बन्धनमा बाँध्न सकोस्। यो पर्वले मुलुकलाई समृद्धि र समुन्नतिको बाटोमा अगाडि बढाउनका लागि सम्पूर्ण देशवासीलाई उच्च राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भन्ने कामनाका साथ पुनः हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।”
उपराष्ट्रपति यादवले छठ पर्वलाई प्रकृतिसँगको गहिरो प्रेम र आस्थाको प्रतीकका रूपमा वर्णन गर्दै नहाय–खाय, खरना, अस्ताउँदो सूर्यलाई अघ्र्य र उदाउँदो सूर्यलाई अघ्र्य दिने धार्मिक अनुष्ठानले यो पर्वलाई विशेष बनाएको बताए। उनका अनुसार यस्तो परम्पराको नयाँ पुस्तामा पुस्तान्तरण हुनु सकारात्मक संकेत हो।
उनले थपे, छठ पर्वले मानवलाई खराब आचरण, व्यवहार र विचार त्यागी सत्य, शुद्धता र सदाचारतर्फ प्रेरित गर्छ। सन्देशमा भनिएको छ, “अस्ताउँदो र उदाउँदो सूर्यदेवको पूजाआराधना गर्नु यो पर्वको विशेषता हो। सम्पूर्ण पृथ्वीलाई ऊर्जा र जीवन प्रदान गर्ने सूर्यदेव तथा परिवारजनको सुदीर्घ स्वास्थ्य प्रदान गर्ने छठी मैँयाको आराधनाले हामीलाई जीवनको स्रोतप्रति कृतज्ञ हुन सिकाउँछ।”
उपराष्ट्रपतिले निर्जला व्रत बसी नदी, तलाउ र जलाशयका पवित्र घाटहरूमा अघ्र्य अर्पण गर्ने व्रतालुहरूको श्रद्धा, आस्था र भक्तिले समाजमा पवित्रता र शुद्धताको सन्देश फैलाउने विश्वास पनि व्यक्त गरे।