काठमाडौँ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ।
बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले साँझ सूर्यदेवको आराधना गर्दै जलाशय, नदी र पोखरीका किनारमा अर्घ्य दिने परम्परा रहँदै आएको छ। चार दिनसम्म चल्ने यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ।
ऐतिहासिक तथा पौराणिक ग्रन्थ महाभारत अनुसार द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेपछि यो पर्वको परम्परा सुरु भएको जनविश्वास छ। सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूया (अनुसूर्य)ले छठ व्रत गरेकी थिइन् र उनले अटल सौभाग्य प्राप्त गरेकी थिइन्। त्यसै समयदेखि यो पर्व मनाउने परम्परा चलेको मानिन्छ।
सूर्यलाई संसारको जीवनशक्ति मानिँदै आएको छ। सूर्यका किरणले वनस्पति, जीवजन्तु, र मानिसको अस्तित्व सुनिश्चित गर्ने भएकाले सूर्यको आराधनाले रोग, दरिद्रता र दुःखबाट मुक्ति दिलाउने विश्वास रहिआएको छ। साम्ब पुराणमा कृष्णपुत्र साम्बले सूर्य उपासना गरेर कुष्ठरोगबाट मुक्ति पाएको उल्लेख पाइन्छ।
व्रतविधिअनुसार कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक भोजन गर्ने र पञ्चमीका दिन खरना गरी खीर (सखर हालेर बनाइएको) षष्ठी मातालाई चढाउने चलन छ। त्यसपछि व्रतालु निराहार बसेर षष्ठीका साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन्। रातभर जाग्राम बसेर भोलिपल्ट सप्तमीका बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत सम्पन्न हुन्छ।
धार्मिक विश्वासअनुसार षष्ठीका दिन सूर्यको विधिपूर्वक आराधना र अर्घ्य दिएमा छालासम्बन्धी रोग लाग्दैन। पहिले तराई क्षेत्रमा सीमित यो पर्व अहिले देशभरका नदी किनार, पोखरी र जलाशयमा मनाइने राष्ट्रिय चाडका रूपमा विकसित भएको छ। विसं २०४६ देखि सरकारले छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिने परम्परा सुरु गरेको हो।
यस अवसरमा राजधानीको गुह्येश्वरी–गौरीघाट क्षेत्र, कमलपोखरी, वागमती, नख्खु र विष्णुमती नदी किनारहरूमा विशेष सजावट गरिएको छ। व्रतालुले यस पर्वमा चोखो, सात्विक खानपान र पवित्रता अपनाउने गर्छन्। केहीले कोजाग्रत पूर्णिमापछि नै लसुन, प्याजलगायत तामसी पदार्थ त्यागेर सात्विक भोजन गर्दै छठको तयारी थाल्छन्।
छठ पर्वलाई पवित्रता, आत्मसंयम र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा देशभर उल्लासपूर्वक मनाइँदैछ।