१० कात्तिक, काठमाडौं ।
व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दूर्गा प्रसाईंको दिल्ली भ्रमण अन्तिम समयमा रद्द भएको खुलासा भएको छ । जेनजी आन्दोलनपछि भारत प्रस्थान गर्न लागेका प्रसाईंलाई भारतीय पक्षले “डिपोर्ट गर्नुपर्ने अवस्था आउन सक्छ” भन्दै चेतावनी दिएपछि उनले यात्रा स्थगित गरेका हुन् ।
प्रसाईं असोज १ गते (सेप्टेम्बर १७) बुधबार अपरान्ह साढे २ बजे एयर इन्डियाको उडानबाट काठमाडौंबाट दिल्ली जान तयारीमा थिए । तर सोही दिन बिहान भारतीय पक्षले नेपाल सरकारलाई पत्र पठाउँदै प्रसाईंलाई दिल्ली जान नदिन अनुरोध गरेको थियो ।
भारतीय पक्षले आफ्नो सन्देशमा लेखेको थियो, “यदि तपाईंहरूले रोक्नुभएन भने हामीलाई उनीलाई दिल्ली एयरपोर्टबाटै फिर्ता पठाउनुपर्ने हुन्छ, जसले दुई देशबीच असहज स्थिति सिर्जना गर्न सक्छ । त्यसैले कृपया उनीलाई यहीँ रोकिदिनुहोस् ।”
सो अनुरोध परराष्ट्र मन्त्रालय हुँदै गृह मन्त्रालयसम्म पुगेको थियो । तर, गृह अधिकारीहरूले कानुनी आधार बिना कुनै नेपाली नागरिकलाई विदेश जान रोकिन नहुने भन्दै नकारात्मक राय दिएका थिए ।
गृहमन्त्री ओमप्रकाश अर्यालले पनि सो विषयमा सोध्दा, “कानुनले मिल्छ भने रोक्ने हो, नत्र कसरी रोक्ने ?” भन्ने प्रतिक्रिया दिएका थिए ।
नेपालले आधिकारिक रूपमा प्रसाईंलाई नरोके पनि भारतीय पक्षले प्रसाईंका निकटस्थहरूलाई डिपोर्टको जोखिमबारे सचेत गराएको थियो । त्यसपछि प्रसाईंले अन्तिम समयमा आफैं यात्रा रद्द गरेका थिए ।
अनौपचारिक संवादमा प्रसाईंले भने भनेका छन्, “मैले बागडोग्रा वा अन्य रुटबाट दिल्ली जाने गर्छु, काठमाडौं मेरो नियमित रुट होइन ।”
प्रसाईं हालको सरकारप्रति असन्तुष्ट देखिन्छन् । उनले नयाँ सरकार गठनमा पश्चिमी शक्तिहरूको प्रभाव रहेको आरोप लगाएका छन् । स्रोतका अनुसार उनी केही दिनअघि स्थलमार्ग हुँदै भारत पुगेका थिए तर दिल्लीमा उनको भ्रमण सोचेजस्तो सफल हुन सकेन ।
उनका निकट व्यक्तिहरूका अनुसार दिल्लीमा रहँदा भारतीय सुरक्षा निकायहरूको निगरानीमा रहनुपरेको प्रसाईंले बताएका छन् ।
यस विषयमा काठमाडौंस्थित भारतीय दूतावासले भने “हामीलाई थाहा छैन” भन्दै आधिकारिक प्रतिक्रिया दिन अस्वीकार गरेको छ