रुपन्देही । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले अहिलेको परिस्थितिमा ‘एमालेबिनाको देश’ र ‘केपी ओलीबिनाको एमाले’ को कल्पना कसैले नगर्न चेतावनी दिएका छन् ।
अर्घाखाँचीको सन्धिखर्कमा आयोजित बृहत् सद्भाव र्याली तथा विरोधसभालाई सम्बोधन गर्दै उनले पार्टीभित्र र बाहिरबाट चलाइएका भ्रमपूर्ण प्रचारप्रति कार्यकर्तालाई सचेत रहन आग्रह गरे । थापाले भने,
“अहिले केही तत्वहरू एमालेबिनाको देश र केपी ओलीबिनाको एमालेको सपना देख्दैछन् । तर त्यो भ्रम हो । देश एमालेबिना चल्दैन, एमाले केपी ओलीको नेतृत्वबिना चल्दैन । मंसिरमा हुने महाधिवेशन पनि ओलीकै नेतृत्वमा अघि बढ्नेछ ।”
उनले पार्टीभित्रको एकता र अनुशासनका विषयमा जोड दिँदै बाहिरबाट आलोचना गर्नेहरूलाई ‘गोधीको आँसु नचुहाउन’ चेतावनी दिए ।
“हिजो पार्टीमा रहेर अहिले चर्न गएका वा अन्य दलका व्यक्ति एमालेको चिन्ता गर्दै सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन् । एमालेले आफ्नो निर्णय आफैं गर्न सक्छ ।”
थापाले भदौ २३ र २४ गतेको आन्दोलनलाई ‘राष्ट्रघाती गिरोहको योजनाअनुसार भएको हिंसात्मक गतिविधि’ बताउँदै त्यसमा संलग्नलाई कानुनी कठघरामा ल्याउनुपर्ने माग गरे ।
“जेन–जीहरूको जायज मागमा हामी साथ दिन्छौं, तर उनीहरूलाई मोहरा बनाएर देशमा आगो लगाउनेहरूलाई छाडिँदैन,” उनले भने, “अपराधी पानीमुनि गए पनि उम्कने छैनन् ।”
उनका अनुसार अहिले देशभर एमालेमाथि भएका आक्रमणहरू पार्टीको बढ्दो शक्तिको प्रमाण हुन् ।
“बलियो शक्तिलाई कमजोर देखाउन योजनाबद्ध रूपमा एमालेमाथि प्रहार भइरहेको छ । तर एमाले कार्यकर्ताको बलमा अडिएको पार्टी हो, भ्रम होइन, तथ्यका आधारमा अघि बढ्नुपर्छ,” थापाले भने ।
थापाले हालको सरकार ‘कानुनी आधारविहीन’ रहेको टिप्पणी गर्दै संसद् पुनःस्थापना नै राजनीतिक निकास हुने दाबी गरे ।
“अहिले ‘रुल अफ ल’ होइन, ‘हुल अफ ल’ चलेको छ । यस्तो सरकारले निष्पक्ष निर्वाचन गराउन सक्दैन,” उनले जोड दिए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पनि तोडफोड र आगजनीमा संलग्न व्यक्तिलाई तुरुन्त कारबाही गर्न प्रशासनलाई चेतावनी दिए ।
“धैर्यताको बाँध अझै टुटेको छैन, तर यदि कानुनी कारबाही ढिलो भयो भने जनताले नै कारबाही थाल्नेछन्,” उनले भने ।
मुख्यमन्त्री आचार्यले संविधान, राष्ट्रिय स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
त्यस्तै, अर्का केन्द्रीय सदस्य बोमबहादुर विश्वकर्माले देशमा शान्ति, स्थिरता र कानुनी शासनको अभाव रहेको भन्दै असंवैधानिक सरकारले जनताको अधिकारमा खेलबाड गरेको आरोप लगाए ।
“निर्वाचन आयोगले मिति घोषणा गरिसकेको छ, हाम्रो पार्टी फेरि उठ्नेछ र फेरि जित्नेछ । तर शान्ति र सुरक्षाको प्रत्याभूति नहुँदासम्म स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव छैन,” उनले भने ।
अर्घाखाँचीमा आयोजित उक्त बृहत् सद्भाव र्यालीमा जिल्लाका विभिन्न स्थानीय तहका नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, किसान, विद्यार्थी तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।